काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी संकटको अवस्थामा रहेको बेला कार्यकर्तामा उत्साह जगाउन पुनर्जागरण अभियान सुरु गरिएको बताएका छन्।
प्रजातन्त्र दिवसको अवसरमा सोमबार कांग्रेस पुनर्जागरण अभियान घोषणा कार्यक्रममा नेता थापाले आगामी ५ वर्षपछि हुने सबै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतसहितको पहिलो पार्टी बनाउन यो अभियान सुरु गरिएको दाबी गरे।
‘हाम्रो अभियान नेता विरुद्ध र गुटबन्दीका लागि होइन’, कांग्रेस केन्द्रीय सदस्य समेत रहेका थापाले भने, ‘सैद्धान्तिक व्याख्या, सांगठनिक ढाँचा, नेतृत्व र पार्टी सञ्चालनको शैलीमा आत्मविश्वास र जनताको विश्वासलाई पुनर्स्थापित गर्न हो।’
कांग्रेसकै नेतृत्वमा सात दशकदेखि नटुंगिएको एउटा महत्वपूर्ण अध्यायको दायित्व निर्वाचनमार्फत पूरा हुनु कांग्रेसको राजनीतिक विजय भएको नेता थापाले बताए।
‘चुनाव हारेको मात्र होइन, कांग्रेसजनमा उत्साह हराएको छ, आत्मबल कमजोर भएको छ, नेतृत्वप्रति गहिरो आक्रोस छ’, थापाले भने, ‘जनताको विश्वास फर्काउन आफू बदलिने र देशको मुहार बदल्ने सपना र संकल्प देखाउन सक्नुपर्छ।’
पुनर्जागरण अभियान सबै प्रदेश, जिल्ला र स्थानीय तहमा सञ्चालन गर्ने उनको भनाइ छ।
अभियानको घोषणा गर्दै अर्का नेता चन्द्र भण्डारीले अब गुट–उपगुटबाट माथि उठेर संगठन सदृढीकरण अभियान सुरु गरेको बताए।
‘सबै प्रकारका चुनौती सामान गर्न तयार हुनुपर्छ’, भण्डारीले भने, ‘पार्टीलाई नयाँ ढंगबाट अघि बढाउन अभियान सुरु गरिएको हो।’
यस्तै, कांग्रेस नेता गुरु घिमिरेले अहिलेको पार्टी सञ्चालन शैलीले चुनौती पार लगाउन नसकिने बताए।
‘राजनीतिक पाठ्यक्रम फेरिएकाले कांग्रेसले पनि आफूलाई परिमार्जन गर्नुपर्छ’, घिमिरेले भने।
अभियान घोषणा कार्यक्रममा धनराज गुरुङ, प्रदीप पौडेल, रामहरि खतिवडा लगायतले पार्टीलाई नयाँ सिराबाट अगाडि बढाउनुपर्ने धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।