काठमाडौं- गत बिहीबार ललितपुरको मानभवनस्थित एक व्यवसायीको घरमा वाम गठबन्धनको एकता संयोजन समितिको बैठक बसेको थियो। पार्टी एकताको औपचारिक निर्णय हुने भनिएको दिनमा सुरुमा गठबन्धनका शीर्ष दुई नेताको 'वान टु वान' बैठक बस्यो। त्यसपछि दुवै पार्टीको स्थायी कमिटी बैठक, फेरि दुवै पार्टीका अध्यक्षबीच एक्लाएक्लै छलफल र अन्तिममा एकता संयोजन समितिको बैठक।
नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षद्वयले लामो समयदेखि सहमति जुट्न नसकेको एकीकृत पार्टीको अध्यक्ष, सरकारको आलोपालो लगायत मुख्य विषयमा सहमति जुटाएका थिए। जब एकता संयोजन समितिको बैठक सुरु भयो, एमाले नेता माधवकुमार नेपालले एकीकृत पार्टीमा दुवै पार्टीका शीर्ष नेताको व्यवस्थापनबारे गम्भीर असन्तुष्टि पोखे।
दुवै दलका शीर्ष नेताको अगाडि उनले सोधे, ‘एकीकृत पार्टीमा हामी कहाँ हुन्छौं? हाम्रो व्यवस्थापन कसरी गर्नुहुन्छ?’
नेता नेपालले दुई शीर्ष नेताको व्यवस्थापनले मात्र पार्टी एकीकरण नहुने भन्दै सबै नेताको सम्मानपूर्वक व्यवस्थापन हुनुपर्ने धारणा राखे।
पार्टी एकताबारे औपचारिक निर्णय गर्न बसेको सो बैठक अन्तिम समयमा सैद्धान्तिक विषय मिल्न नसकेको निष्कर्षसहित स्थगित भयो। पछिल्ला बैठकहरुमा एमाले नेता नेपालले एकीकृत पार्टीमा आफ्नो भूमिकाबारे निकै चर्चा गर्ने गरेका छन्। महासचिवका रुपमा एमालेको लामो समय नेतृत्व गरेका पूर्व प्रधानमन्त्री समेत रहेका नेता नेपाल एकीकृत पार्टीमा समेत प्रभावशाली पदमा रहने इच्छा देखाइरहेका छन्।
आलंकारिक भूमिकाको राष्ट्रपति नबन्ने बताएका नेता नेपाल एकीकृत पार्टीभित्र कार्यकारी भूमिका खोजिरहेको स्रोत बताउँछ।
सोमबार गृहजिल्ला रौतहट पुगेका नेता नेपालले पत्रकारसँग सरकारको नेतृत्वमा आलोपालो गर्न नहुने धारणा राख्न समेत भ्याए। नेपालले पार्टी एकता संयोजन समितिको अघिल्लो बैठकमा एकीकृत पार्टीको मार्गदर्शक सिद्धान्त 'जनताको बहुदलीय जनवाद' हुनुपर्ने अडान समेत लिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।