विराटनगर- लागूऔषधको ओसार–पसार र प्रयोग बढेपछि इलाका प्रहरी कार्यालय रानीले सोमबार लागूऔषध प्रयोगकर्तालाई भेला पारी चेतनामूलक कार्यक्रम गरेको छ।
कार्यक्रममा ३६ जना लागूऔषध प्रयोगकर्ता सहभागी थिए।
‘सीमावर्ती क्षेत्रमा लागूऔषध नियन्त्रण अभियान’ अन्तर्गत विराटनगर–१५ स्थित नेपाल–भारत सीमाक्षेत्रमा कार्यक्रम सञ्चालन गरिएको हो। लागूऔषध प्रयोगकर्ता युवाहरुलाई दसगजा क्षेत्रमा भेला गरी दुई घन्टा सचेतना कार्यक्रम सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
कार्यक्रममा लागूऔषधबाट हुने क्षतिबारे जानकारी गराउँदै लागूऔषध सेवन नगर्ने सामूहिक प्रतिबद्धता गराई पठाइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताए।
लागूऔषध सेवन गर्नकै लागि सो क्षेत्रको भारतीय वजार जोगबनी जान धरान, इटहरी, तरहरा, इनरुवा, बेलबारी, उर्लाबारी, हरैचा, उदयपुर, सिरहा र सप्तरीसम्मका युवाहरु आउने गरेको निरौलाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।