सुर्खेत- आफूलाई मन्त्री नबनाइएको भन्दै प्रदेश नं ६ का सांसद चन्द्रबहादुर शाहीले सांसद पदबाट राजीनामा दिएका छन्।
आइतबार गठन भएको प्रदेश नम्बर ६ को मन्त्री परिषद्मा आफूलाई नसमेटिएको भन्दै उनले हुलाकमार्फत प्रदेश सभामुखलाई राजीनामा पठाएका हुन्। सांसदबाट राजीनामा दिएको पत्र हुलाकमार्फत सभामुखलाई पठाएका उनी पार्टी सदस्यताबाट समेत राजीनामा दिने भन्दै काठमाडौं पुगेका छन्।
मुगु एमाले पार्टीको संस्थापकसमेत रहेका शाहीले प्रदेश सरकार गठनमा पार्टीले आफ्नो योगदानको मूल्यांकन नगरेको असन्तुष्टि पोखे। आफ्नो क्षमता र योगदानको मूल्यांकन नगरेकाले सांसद पद र एमाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको शाहीले टेलिफोनमार्फत बताए।
पार्टीका केही नेताले गुटगत आधारमा मन्त्री छनोट गरेको भन्दै उनले असन्तुष्टि जनाएका छन्। एमाले मुगुका संस्थापक सचिवदेखि कर्णाली अञ्चल समन्वय समितिका कार्यवाहक सचिव हुँदै केन्द्रीय सल्लाहकार शाहीले प्रदेश ६ को सभामुख पदमा समेत दाबी गरेका थिए। सभामुख र मन्त्री दुवै पदमा आफूले स्थान नपाएपछि आक्रोशित बनेका उनले राजीनामा दिएका हुन्।
सभामुखको कार्यालयले भने शाहीले राजीनामा दिएको पत्र प्राप्त भइनसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।