दाङ- अचाक्ली धुलो उडेपछि नियन्त्रणको माग गर्दै यहाँका स्थानीयवासीले धुलो नियन्त्रणको माग गरेका छन्। उनीहरुले त्यसका लागि एक घन्टा चक्का जामसमेत गरेका छन्।
तुलसीपुर–घोराही सडकअन्तर्गत तुलसीपुर बजारदेखि हात्तीखौवा चोकसम्म करिब एक किलोमिटर बाटो निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि काम हुन सकेको छैन। सडकखण्डको स्तरोन्नतिको नाममा लामो सयमदेखि भत्काइएको सडक कालोपत्र नगर्दा त्यस क्षेत्र धुलाम्मे हुँदा सर्वसाधारणको स्वास्थ्य जोखिममा परेको स्थानीयवासीले बताएका छन्।
स्थानीयवासीले अविलम्ब सडक कालोपत्र गर्नुपर्ने माग गर्दै आइतबार बिहान १०ः३० देखि ११ः३० बजेसम्म चक्का जाम गरेका हुन्। सडक निर्माण हुन थालेको लामो समय पुग्दा समेत सडक कालोपत्र नहुँदा त्यस क्षेत्रको जनजीवन धुलोका कारण निकै कष्टकर बन्दै गइरहेको तथा व्यापार–व्यवसाय चौपट भएको स्थानीयले बताएका छन्।
'बालबालिकालाई विद्यालयसम्म पुग्न कठिन छ, घरको भान्सामा समेत धुलो आउने गर्छ,' स्थानीय वसन्त खड्गीले भने, 'पाँच मिनेटमै शरीरमा धुलोले ढाकेर मानिस नचिनिने हुन्छ।'
सम्बन्धित निकायबाट भरपर्दो निकास नआए सडक अनिश्चितकालका लागि बन्द गर्ने स्थानीयवासीले चेतावनी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।