अङ्कारा- सिरियाको पूर्वी क्षेत्रमा गरिरहेको सैनिक आक्रमण स्थगित गर्न टर्की सहमत भएको छ। सिरियामा टर्कीले सैनिक आक्रमणलाई तीब्र बनाइरहेको समयमा अङ्कारा पुगेका अमेरिकी उपराष्ट्रपति माइक पेन्स र विदेशमन्त्री माइक पोम्पेओसँग बिहीबार भएको भेटवार्तापछि टर्की आक्रमण स्थगित गर्न सहमत भएको हो।
दुवै देशको संयुक्त वक्तव्यमा कुर्दिस समुदायलाई सुरक्षित क्षेत्रमा लैजान ५ दिनका लागि आक्रमण स्थगन गरिएको उल्लेख छ। भेटका क्रममा भने टर्कीका राष्ट्रपति एर्दोगानले पूर्ण जित हात नपारेसम्म टर्की पछि नहट्ने अडान राखेका थिए।
कुर्दिस लडाकुलाई पनि आक्रमण स्थगन गर्न र शान्तिवूर्ण ढंगबाट वार्तामा आउन यो उपयुक्त अवसर भएको टर्कीका विदेशमन्त्री मेभलुट काभोसोग्लुले बताएको 'रोयटर्स'ले लेखेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनले सिरियाली कुर्दिस समुदायलाई सहयोग गर्ने थप जोखिम नलिने बताएको एक दिनपछि उपराष्ट्रपति पेन्स र विदेशमन्त्री पोम्पेओ अङ्कारा आएका हुन्। उनीहरूले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानलाई उत्तरी सिरियामा रहेका लाखौं कुर्दिस समुदायको जीवनलाई ख्याल गर्दै सैनिक आक्रमण रोक्न आग्रह गरेपछि यस्तो सहमति भएको हो।
अमेरिकी अधिकारीहरू टर्कीका लागि निस्कनु पहिले बुधबार राष्ट्रपति ट्रम्पले अङ्काराविरूद्ध आर्थिक प्रतिबन्ध लगाउने चेतावनी दिएका थिए। उनले भने, 'यदि टर्की रोकिएन भने प्रतिबन्ध र कर वृद्धिका साथै हामीले गरिरहेका अन्य कुराहरूलाई निरन्तरता दिनेछौँ, जसले टर्कीको अर्थतन्त्रलाई विनास गर्नेछ।'
राष्ट्रपति ट्रम्पले अक्टोबर ९ मा एक पत्र लेख्दै टर्कीका आफ्ना समकक्षी एर्दोगानलाई सिरियाली आक्रमण रोक्न भनेका थिए। पत्रमा उनले सिरियामा कारबाही गरेर ‘मुर्ख नबन्न’ एर्दोगानलाई चेतावनी दिएका थिए।
टर्कीको हस्तक्षेपले कुर्दिस समुदायको बाहुल्यता रहेको सिरियाको उत्तरी क्षेत्रमा मानवीय सहयोगको अवस्थालाई थप खराब बनाउने र सिरियाली सङ्कटलाई समाधानका लागि भइरहेका प्रयासलाई अवरूद्ध गर्ने अन्तर्राष्ट्रिय समुदायले बताउँदै आएको छ।
सिरियामा इस्लामिक स्टेट (आइएस)का लडाकूविरोधी युद्धमा अमेरिकाप्रति सहयोगी रहँदै आएको कुर्दिस लडाकूको संगठन ‘पिपुल्स प्रोटेक्सन यूनिट’ विरूद्ध लक्षित गरी आक्रमण भइरहँदा अमेरिकी राष्ट्रपतिले भने आफ्नो सैनिकलाई उत्तरी सिरियाबाट फिर्ता बोलाउने बताएका छन्।
राष्ट्रपति ट्रम्पले कुर्द–बहुल सिरियाली भूमिमा टर्कीले आक्रमण थालेसँगै केही दिन अघि उत्तरपूर्वी सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने निर्णय गरेका थिए।
यद्यपि अमेरिकी तल्लो सदन 'हाउस अफ रिप्रिजेन्टेटिभ्स'ले बुधबार युद्धग्रस्त मुलुक सिरियाबाट अमेरिकी सैनिक फिर्ता गर्न नहुने प्रस्ताव पारित गरेको छ। संसद्मा भएको मतदानमा सैनिक फिर्ता गर्न नहुने पक्षमा ३५४ र विपक्षमा ६० मत परेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।