काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले हालै भएका विभिन्न चरणमा सम्पन्न निर्वाचनमार्फत प्राप्त जनादेशअनुरुप देशमा आर्थिक समृद्धि र सुशासन कायम गर्नुपर्ने बताएकी छन्।
प्रजातन्त्र दिवस–२०७४ का अवसरमा आज उनले दिएको शुभकामना सन्देशमा भनिएको छ, ‘हामीले प्राप्त गरेका उपलब्धिको मूल्यांकन गर्दै त्यसबाट प्राप्त अनुभव तथा पाठबाट निर्देशित भएर सुशासन, शान्ति र सहमतिलाई आत्मसात् गरी अगाडि बढ्नु हाम्रो साझा, जिम्मेवारी र दायित्व हो।’
६८औँ राष्ट्रिय प्रजातन्त्र दिवसमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गर्दै उनले यस दिनले सबैलाई प्रजातन्त्रका आधारभूत मूल्य र मान्यता आत्मसात् गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना व्यक्त गरेकी छन्।
वि.सं. २००७ फागुन ७ गतेका दिन निरंकुश जहानियाँ राणा शासनको अन्त्य भई जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ। प्रजातन्त्र बहाली र संस्थागत गर्ने क्रममा २०४६ र २०६२/६३ मा सफल आन्दोलन भएको जनाउँदै राष्ट्रपति भण्डारीले सबै आन्दोलनमा प्रतिविम्बित जनइच्छाअनुसार नै आज हामीले गर्वका साथ संघीय लोकतान्त्रिक संविधानसहितको गणतन्त्रात्मक शासन पद्धति अपनाइरहेको उल्लेख गरेकी छन्।
उनले प्रजातन्त्रका लागि आफ्नो जीवन उत्सर्ग गर्ने सम्पूर्ण ज्ञात÷अज्ञात शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अगाडि बढ्ने प्रेरणा यस दिवसले सबै नेपालीमा दिन सकोस् भन्ने कामना पनि गरेकी छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।