म्युनिक, जर्मनी- इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरान विश्वको लागि खतरा भएको बताएका छन्।
म्युनिक सुरक्षा सम्मेलनमा बोल्दै नेतन्याहुले भने, 'विश्वका लागि इरान खतरा भएको छ, तर यो मेरो धारणा हो। एक पटक आणविक हतियारबाट सुसज्जित भएपछि इरानको आक्रामकतालाई नियन्त्रण गर्न सकिनेछैन र यसले विश्वमा खतरा निम्त्याउनेछ।'
नेतन्याहुको भनाइलाई उद्धृत गर्दै जेरुसेलम पोष्टले सो कुरा उल्लेख गरेको छ।
पहिलो पटक म्युनिक सम्मेलनलाई सम्बोधन गर्दै नेतन्याहुले भने, 'आवश्यक परेमा इजरायल इरानका मध्यपूर्वका सहयोगीलाई मात्र होइन, इरान विरुद्ध नै खरो उत्रनेछ।'
उनले इरानसँग भएको आणविक सम्झौताले यस क्षेत्र र छिमेकमा पनि खतरनाक इरानी बाघलाई खुला गरिदिएको टिप्पणी गरे।
'इरानले मध्यपूर्वको ठूलो क्षेत्रलाई विनासको बाटोमा हिँडाइरहेको छ', उनले भने।
इजरायली वायुसेनाले इजरायली आकाशमा प्रवेश गरेको इरानी ड्रोनलाई आकाशमै नष्ट गरिदिएपछि प्रत्युत्तरमा इरानले इजरायली एफ–१६ लाई खसालेको थियो। यसका कारण इजरायल तथा सिरिया तथा इरानबीचको तनाव थप चर्किएको थियो। (रासस/एएनआई)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।