पोखरा- प्रदेश नम्बर ४ प्रदेशसभा निर्वाचनबाट उपसभामुख पदमा नेकपा एमालेका प्रदेशसभा सदस्य सिर्जना शर्मा निर्वाचित भएकी छन्।
पोखराको नदीपुरस्थित प्रदेशसभा हलमा आइतबारको बैठकमा शर्मा ३८ मतसहित निर्वाचित भएकी हुन्। उपसभामुख पदको निर्वाचनमा वाम गठबन्धनबाट शर्माका साथै नेपाली कांग्रेसबाट मनकुमारी गुरुङ र राष्ट्रिय जनमोर्चाबाट पियारी थापाको उम्मेदवारी परेको थियो।
बैठकमा उपस्थित ५६ मतमध्ये वाम गठबन्धनबाट निर्वाचित शर्माको पक्षमा ३८ मत र विपक्षमा १८ मत परेको प्रदेश सभामुख नेत्रनाथ अधिकारीले बैठकमा जानकारी दिए।उपसभामुखको चयन मत विभाजनको प्रक्रियाबाट गरिएको थियो।
प्रदेश ४ को प्रदेशसभामा एमालेका २७, नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका १२, राष्ट्रिय जनमोर्चाका ३, नयाँ शक्ति नेपालका २ सांसद छन् भने मनाङबाट निर्वाचित स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङले सपथ खाएका छैनन्।
सभामुख नेत्रनाथ अधिकारीले नवनिर्वाचित उपसभामुख शर्मालाई एक कार्यक्रमबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए। (रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।