काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘एक जवान, एक खाट’को अवधारणा ल्याएका छन्। यसअघि सशस्त्र प्रहरीमा जनशक्ति अनुसार खाटको व्यवस्था नहुँदा सुत्न समेत अफ्ठ्यारो हुने गरेको थियो। दुईवटा खाट जोडेर तीन जवान सुत्नुपर्ने अवस्था थियो।
‘अब २ वटा खाट जोडेर ३ जना जवान सुत्नु पर्ने छैन,’ महानिरीक्षक खनालले भने, ‘आइजी एउटा खाटमा सुत्छ, भने प्रत्येक जवानका लागि पनि एउटा खाट हुनुपर्छ। त्यसका लागि मातहत कमाण्डरलाई निर्देशन दिइसकेको छु।’
खाटका लागि बजेट समेत निकासा भइसकेको महानिरीक्षक खनालले जानकारी दिए। हालै मात्र देशका विभिन्न युनिटहरुको निरीक्षणका क्रममा अप्ठेरो गरी जवानहरु सुतेको देखेपछि यस्तो निर्णय गरिएको आइजी खनालको भनाइ छ।
महानिरीक्षकको यस प्रकारको कार्यले तल्लो तहका कर्मचारीको मनोबल उच्च राख्न मद्धत पुग्ने पूर्व क्षेत्र एक नम्बर बराह बाहिनीका एक अधिकृतले बताए।
सशस्त्रका भवनहरुको नाम अब अमर सशस्त्र प्रहरीको नाममा
यसैगरी सशस्त्र प्रहरी बलका स्थायी भवनहरुको नाम अब अमर सशस्त्र प्रहरीको नाममा नामाकरण गरिने भएको छ। युनिट निरीक्षणको क्रममा २ जना जवानबाट यस्तो सल्लाह र सुझाव पाएको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताए।
सशस्त्रले अब वीरगति प्राप्त गर्ने ३ सय १८ कर्मचारीको नाममा स्थायी भवनको नामाकरण गर्नेछ। ‘यो अमर प्रहरी प्रतिको उच्च सम्मान हो,’ महानिरीक्षक खनालले भने, 'ती जवानहरुलाई धन्यवाद दिन चाहन्छु, जसले यति राम्रो सल्लाह दिए।’
महानिरीक्षक खनालले चाडपर्वका बेला थप चनाखो भएर सुरक्षा प्रदान गर्न पनि मातहत कमाण्डरलाई निर्देशन दिएका छन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।