बुटवल– प्रदेश नम्बर ५ को उपसभामुखमा नेकपा एमाले सांसद कृष्णी थारु निर्वाचित भएकी छिन्।
आइतबार प्रदेशसभामा भएको उपसभामुखको निर्वाचनमा दुई जनाको उम्मेदवारी परेकोमा वाम गठबन्धनबाट उम्मेदवार बनेकी थारु निर्वाचित भएकी हुन्। संसदमा उपस्थित ८५ सांसदमध्ये थारुले ६६ पाइन् भने कांग्रेसको तर्फबाट उम्मेदवारी दिएकी रिना नेपाल विश्वकर्माको पक्षमा १९ मत मात्र पर्यो।
संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले पनि थारुलाई समर्थन गरेका थिए। फोरमका ५ र जनमोर्चाका १ जना सांसद् छन्।
को हुन् उपसभामुख थारु?
बर्दियाकी थारु कमैया महिलाको पहिचानको अधिकारका लागि करिब दुई दशकदेखि अगुवाई गर्दै आएकी चौधरी नेकपा एमालेकी समानुपातिक सांसद हुन्। बाल्यकालदेखि नै अरुको घरमा काम गर्दै आएकी थारु विवाहपछि पनि जमिन्दारको घरमा बुक्रहीको रुपमा काम गर्दै आएकी थिइन्।
तत्कालीन सरकारले २०५७ साउन २ गते कमैयालाई मुक्त भएको घोषणा गरेसँगै मुक्त कमैयाकी श्रीमतीको रुपमा उनी पनि मुक्त भइन्।
मुक्त भएपछि उनी चुप लागेर बसिनन्। सरकारले मुक्त गर्दा मुक्त कमैयालाई पहिचान नदिएको भन्दै कमैया महिलाको पहिचानका लागि परिचयपत्र, समान ज्याला, स्वास्थ्य उपचार, बालबालिकाको निःशुल्क शिक्षा लगायतका माग राख्दै निरन्तर संघर्ष गर्दै आएकी छन्।
उनले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपूरका मुक्त कमैयाको पहिचानका लागि महिलाहरुलाई संगठित गर्दै आएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।