ल्हासा- चीनको स्वशासित क्षेत्रमा तिब्बतको ल्हासास्थित एक बिहारमा आगलागी भएको छ। बौद्ध धर्मका अनुयायीहरुको प्रसिद्ध जोखाङ बिहारमा शनिबार रातिदेखि आगलागी हुँदा बिहार ध्वस्त भएको छ।
विश्व सम्पदा सूचीमा सूचीकृत जोखाङ बिहार १ हजार वर्षभन्दा पुरानो मानिन्छ। तीब्बतीहरुले शुक्रबार नयाँ वर्ष मनाएको एक दिनपछि सो बिहारमा आगलागी भएको हो।
स्थानीय अनलाइन संचारमाध्यमहरुका अनुसार बिहारको छानाबाट आगो लाग्न सुरु भएको थियो। फुटेजमा बिहार लागेको आगोको लप्का देखाइएको छ। आगलागीबाट प्यागोडा शैलीमा निर्माण गरिएको सो बिहारको एक भवन पुरै जलेर नष्ट भएको छ।
चिनीया सरकारी संचार माध्यमका अनुसार शनिबार अबेर रातीदेखि लागेको आगो केहि समयमा नियन्त्रणमा लिइएको थियो। घटनामा कुनै पनि मानविय क्षति भने नभएको बताएको छ।
बिहारको बाहिरी भागमा क्षति पुगेपनि यसको पुरातात्विक संरचनामा भने खासै क्षति नपुगेको सरकारसम्बद्ध संचारमाध्यमले दावी गरेको छ।

तिब्बतलाई बौद्ध धर्मावलम्बीहरुले ‘विश्वको छानो’को रुपमा चिन्ने गर्दछन्।
सामाजिक सञ्जालमा राखिएका आगलागीका फोटो तथा भिडियोलाई चिनिया सरकारी पक्षले हटाएको थियो।
बेइजिङले बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र मानिदै आएको तिब्बतमा आफ्नो बलियो प्रभाव जमाउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।