(माथि- छवि निरौला र गोपाल पौडेल, बीच– सरु थापा, तल- नरेन्द्र अर्याल र केशव पोखरेल)
दक्षिण कोरिया– सात वर्षअघि जन्मथलो स्याङ्जा छोडी कोरिया छिरेका टुकबहादुर राना यहाँको ख्यङ्नाम बोग्दो स्थित ‘सजिन सानअव’ नामक मोटरपार्टस्स कम्पनीमा कार्यरत छन्। राना सन् २०१० मा दक्षिण कोरिया छिर्दा मासिक करिब डेढ लाख रुपैयाँ कमाउथे। उनी कोरिया आएको १ वर्ष बित्दै गर्दा करिब १३ लाख रुपैयाँ जम्मा गरे। पैसा त कमाए, तर लगानी गर्ने भरपर्दो माध्यम फेला पार्न सकेनन्। अन्त्यमा गाउँकै चिनेजानेका तराईमा जग्गाको कारोवार गर्ने एक व्यक्तिको सम्पर्कमा पुगे। अन्ततः कमाइको सबै रकम तराईको जग्गामा लगानी गरे।
पहिलेदेखि नै आफ्नो सोचाइ उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने रहे पनि भरपर्दो माध्यम नपाउँदा अनुत्पादक क्षेत्रमै लगानी गर्न बाध्य भएको उनी बताउँछन्।
गुल्मीका हरि पन्थको कहानी पनि रानाको भन्दा फरक छैन । पन्थ कोरिया छिरेको ५ वर्ष बित्नै लाग्दा उनले कमाएको सबै रकम तराईको खेतीयोग्य जमिन खण्डीकरण गरेर बनाइएका कित्तामै खन्याए।
लगानीका लागि विभिन्न जलविद्युत् लगायतका आयोजनामा विदेशमा कमाएको रकम लगानीका रुपमा ल्याउने भनिए पनि आफूलाई विश्वास नलागेको बताउँछन् विगत ९ वर्षदेखि यहाँ कार्यरत भक्तपुरका सञ्जय बज्राचार्य।
राना, पन्थ र बज्राचार्य जस्तै कोरियामा कार्यरत सयौं युवाको एक मात्र लगानी गर्ने स्थान बनेको छ तराईका खेतीयोग्य जमिनमा बनाइएका प्लटिङ।
देशमा विकाशका लागि आर्थिक अभावलाई मुख्य कारण देखाउँदै सरकारले विदेशीलाई गुहारिरहेका बेला विदेशबाट भित्रिने करौडौं रेमिट्यान्स भने घडेरीका रुपमा बनाइएका खेतीयोग्य जमिनका टुक्रामा पोखिइरहेको छ।
सरकारले विदेशबाट भित्रिने रेमिट्यान्सको सदुपयोग गरी पुँजी निर्माणमा लगाउन सकिरहेको छैन। नाफामूलक आयोजनामा रेमिट्यान्सको सदुपयोग नहुँदा अनुत्पादक क्षेत्रमा पैसा फसिरहेको छ। विदेशमा कमाएको पैसा कहाँ लगानी गर्ने भनेर धेरै युवा चिन्तित छन्। यसै सन्दर्भमा देशमा बनेको नयाँ सरकारलाई कोरियामा कार्यरत नेपालीले यस्तो सुझाव दिएका छन्ः
छवि निरौला, उर्लावारी मोरङ
अब बन्ने स्थायी सरकारले खेतीयोग्य जमिनको प्लटिङलाई रोकेर उत्पादनका लागि स्पष्ट योजना आगाडि सारेर लगनी गर्न आह्वान गर्नुपर्छ। उत्पादनमूलक क्षेत्र र कृषिमा लगनी गर्न चाहने हरेक युवालाई आवस्यक सीपमूलक तालिम, पूर्वाधार विकास, बजार व्यवस्थापन, लगनी सुरक्षाको ग्यारेन्टी, अनुदान आदिको व्यवस्था गरी प्रोत्साहित गर्ने हो भने हामीले पठाएको रेमिट्यान्स देश विकासमा धेरै सहयोगी हुने थियो।
गोपाल पौडेल, गुल्मी
देश गरिब छ, जनता धनी छन्। सरकारको स्पष्ट नीतिको अभावमा आफ्नै देशका जनतासँग भएको पैसा पनि सदुपयोग हुन सकिरहेको छैन। भ्रष्ट्राचारीहरुले तराईका उब्जाउ जमिनमा प्लटिङ गरेर सजिलै लगानी गरिरहेका छन्। सरकारले स्रोत खोज्दैन।
अहिले बनेको सरकार स्थायी हुनुपर्छ र वैदेशिक रोजगारीबाट भित्रिने रकमलाई उचित ठाउँमा लगानी गरी त्यसबाट मुनाफा आर्जन गर्नेतर्फ लाग्नुपर्छ। लगानी सुरक्षाको प्रत्याभूति हुनासाथ अहिले अनुत्पादक क्षेत्र र उपभोग्य सामाग खरिदमा थुप्रिएको रेमिट्यान्स पुँजी निर्माणमा लगाउन सकिन्छ।
नरेन्द्र अर्याल, कपिलवस्तु
देशका लाखौं जनशक्ति अहिले विदेशमा छन्। प्रत्येक दिन करोडौं रेमिट्यान्स नेपाल भित्रिइरहेको छ। तर, त्यो रकम सही ठाउँमा सदुपयोग हुन सकिरहेको छैन। देशमा रहेका नदीनाला यत्तिकै बगिरहेका छन्।
त्यहाँबाट प्रसस्त बिजुली उत्पादन गर्न सक्ने क्षमता आर्थिक रुपमा रेमिट्यान्सले राख्छ। तर, सरकारले त्यसलाई प्रयोग गर्नै सकिरहेको छैन। यत्ति मात्र नभएर लगानी गर्ने अन्य प्रसस्तै क्षेत्र छन्, उद्योगधन्दाहरु खोल्न सकिन्छ। यसतर्फ सरकारको ध्यान जाओस्।
सरु थापा, भैरहवा, रुपन्देही
जनार्दन शर्मा ऊर्जा मन्त्री हुँदा ‘जनताको पानी जनताको लगानी’ भन्ने नारा ल्याएका थिए। त्यतिबेला केही हुन्छ कि भन्ने संकेत देखिएको थियो। तर, त्यसपछिको सरकारले कार्यक्रमलाई निरन्तरता दिएको पाइएन। सरकारमा जानेहरुलाई लगानी हाम्रै देशमा छ, अन्य देशलाई गुहार्नुपर्दैन भन्ने जानकारी पनि छ। तर, उनीहरुको अभिष्ट के हुन्छ त्यो हामी बुझ्न सक्दैनौं। स्वार्थ जेसुकै होस्, तर अबको स्थायी सरकारले जनताको लगानी आफ्नै देशमा लगाउने वातावरण सिर्जना गर्नुपर्छ।
केशव पोखरेल, पाल्पा
मृगले आफूसँग भएको कस्तुरी चाल नपाएर बाहिर खोज्दै दौडिन्छ भन्ने नेपाली उखान छ नि, हो त्यसरी नै दौडिरहे विगतका सरकारहरु। यो सरकार कसरी अगाडि बढ्छ, त्यो हेर्नै बाँकी छ। यो सरकारलाई मेरो सुझाव, आफूसँग रहेको कस्तुरीको पहिचान गरोस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।