काठमाडौं- सार्वजनिक नैतिकता विरुद्धको कसुरमा जिल्ला प्रशासन कार्यालय दाङबाट म्याद थप गरेर इलाका प्रहरी कार्यालय तुलसीपुर लैजाँदै गर्दा बाटोबाटै फरार भएका थुनुवा पक्राउ परेका छन्।
तुलसीपुर उपमहानगरपालिका-५ का २१ वर्षीय फरार थुनुवा विष्णु बुढाथोकीलाई प्रहरीले आइतबार पक्राउ गरेको हो। उनी गत शनिबार राप्ती अञ्चल अस्पताल घोराही अघिबाट प्रहरीलाई झुक्याएर फरार भएका थिए। आइतबार बुढाथोकीलाई प्रहरीले तुलसीपुर बसपार्कबाट पक्राउ गरेको हो।
पक्राउ परेका थुनुवा बुढाथोकीको साथबाट १ ग्राम ३ सय ४० मिलिग्राम लागुऔषध ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
त्यसैगरी, दाङ प्रहरीले खुकुरी प्रहार गर्ने अर्का एक जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा दाङको शान्तिनगर गाउँपालिका-६ का २२ वर्षीय निमबहादुर वली छन्। उनलाई आइतबार राति खुकुरीसहित पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ।
वलीले सामान्य विवादका क्रममा सोही ठाउँका ३० वर्षीय प्रकाश थापालाई खुकुरी प्रहार गरी घाइते बनाएका थिए।
घाइते थापाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। उनको टाउको र बाँया कानमा गहिरो चोट गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।