रसुवा– रसुवामा भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदान रकम लिन प्रभावितहरुले १७ दिन कुर्नुपर्ने भएको छ।
जिल्लाको उत्तरगया गाउँपालिकामा रहेको हिमालयन बैँकले लाभग्राहीको चाप बढेको भन्दै १७ दिनपछि मात्र रकम दिने बताएपछि रकम पाउनैका लागि कुर्नुपरेको हो। लाभग्राहीको खातामा गइसकेको रकम निकाल्न जाँदा बैंकले नदिएको उत्तरगया गाउँपालिका–२ का भूकम्प प्रभावित गौरव सापकोटाले बताए।
उनले भने, ‘खातामा पैसा आइसके पनि आज गयो भोलि गयो, बैंकले दिँदैन। बैंकले अनुदान रकम समयमै उपलब्ध नगराउँदा हामीले घर निर्माण गर्न सकेका छैनौं।’
हिमालयन बैंकका शाखा प्रबन्धक रामकाजी थापाले भने भूकम्प प्रभावितलाई बैंकबाट रकम उपलब्ध गराउन प्रक्रिया झन्झटिलो भएको र लाभग्राहीको चाप बढेपछि व्यवस्थापनका लागि समयतालिका बनाउनुपरेकोे बताए।
‘किस्ता वितरणका लागि छुट्टै कर्मचारी आवश्यक पर्छ, एउटै कर्मचारीले सबैतिर हेर्नुपर्दा केही ढिलो हुनु स्वाभाविक हो’, उनले भने।
शाखा प्रबन्धक थापाले बैंकमा दैनिक डेढ सयदेखि २ सयसम्म लाभग्राही आउन थालेपछि सेवा प्रवाह सहज बनाउन समयतालिका सार्वजनिक गरेको बताए।
सरकारले तोकेको समयसीमाभित्रै आवास निर्माण सम्पन्न गर्न लाभग्राहीले पुनर्निर्माणलाई गति दिए पनि बैंकको ढिलाइले समस्या भएको स्थानीयले बताएका छन्।
साविकको गाउँ विकास समितिको वडा अनुसार अनुदान वितरण गर्नेगरी बैंकले समयतालिका प्रकाशन गरेको छ।
उत्तरगया गाउँपालिकामा २ हजार ५ सय ८ लाभग्राही छन्। उक्त लाभग्राहीमध्ये २ हजार एक सय १३ ले पहिलो किस्ता, एक हजार एक सय ७० ले दोस्रो किस्ता र ६ सय ७ लाभग्राहीले तेस्रो किस्ता बापतको रकम बुझिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।