सुर्खेत- नेकपा माओवादी केन्द्रले प्रदेश नं ६ मा आफ्नो भागमा परेका दुई वटा मन्त्रालयका लागि मन्त्री छनौट गरेको छ।
वाम गठबन्धनको भागबण्डामा प्रदेश नं ६ मा मुख्यमन्त्रीसहित थप दुई मन्त्री माओवादीले पाएको छ। मुख्यमन्त्रीमा माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाही नियुक्त भई पदभार ग्रहण गरिसकेका छन्। मन्त्रिमण्डल विस्तार आइतबार मात्रै हुने भए पनि माओवादीले आफ्नो पार्टीबाट सरकारमा पठाउने थप दुई जना मन्त्रीको नाम पनि टुंगो लगाएको हो।
माओवादीले जुम्लाका सांसद नरेश भण्डारी र रुकुम पश्चिमकी सांसद विमला केसीलाई सरकारमा पठाउने निर्णय गरेको छ।
भण्डारीले यसअघि मुख्यमन्त्रीको दाबी गर्दै आएका थिए। तर अन्तिममा भने उनले शाहीलाई समर्थन गरे।
नेकपा एमालेले भने अझै मन्त्रीको टुंगो लगाइसकेको छैन। सात सदस्यीय मन्त्रीमण्डलमा एमालेले चार जना पठाउँदैछ। जसमा प्रकाश ज्वाला, दल रावल, गुलाबजंग शाह, मीना रखाल, खड्गबहादुर खत्री, बद्मी क्वारी बोहोरा लगायतको चर्चा छ। तर छलफल जारी रहेको भन्दै एमालेले अन्तिम टुंगो लगाइसकेको छैन।
एमालेले मन्त्री टुंगो नलगाउँदा शुक्रबार मन्त्रीमण्डल गठन हुन सकेन। माओवादीले मुख्यमन्त्रीको सपथसँगै केही मन्त्रीहरुको सपथ गराउने तयारी गरे पनि एमालेले मन्त्रीको नाम नदिँदा आइतबारलाई सारिएको छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले केही आन्तरिक तयारी नपुगेकाले मन्त्रिपरिषद् विस्तारको कार्य आइतबार हुने बताए। मन्त्रिपरिषद् गठन भएलगत्तै प्रदेश नं ६ को समृद्धिको गुरुयोजना बनाएर कार्यान्वयनमा लैजाने उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।