काठमाडौं– काठमाडौँ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले काठमाडौं उपत्यकामा वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधन सञ्चालन गर्नुपर्ने संकल्प प्रस्ताव व्यवस्थापिका–संसदमा आज दर्ता गराएका छन्।
प्रस्तावमा सांसद रामेश्वर फुयाँल, दीपकप्रसाद कुइँकेल, कौशर शाह र कान्ता भट्टराईले समर्थन गर्नुभएको छ । उपत्यकाको वायुप्रदूषणको प्रमुख कारण पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन प्रतिस्थापन गरी विद्युतीय सवारी साधनको प्रयोग गर्ने व्यवस्था गर्नुपर्ने प्रस्तावमा उल्लेख छ।
संकल्प कार्यान्वयनका लागि कार्यतालिकासहितको कार्ययोजना बनाउन र नीतिगत, व्यवस्थापकीय, वित्तीय र संरचनागत व्यवस्था गरी कार्यन्वयन गर्नका लागि सरकारलाई निर्देशन दिन पनि प्रस्ताव गरिएको छ । विद्युतीय गाडीको प्रयोग बढाउन आवश्यक प्रोत्साहनका लागि निश्चित अनुदानको व्यवस्था गर्न र पेट्रोलियम पदार्थको खरिद गर्दा तिर्नुपर्ने वातावरणीय करलाई वातावरण संरक्षणकै लागि सदुपयोग गर्न प्रस्तावमा माग गरिएको छ।
प्रस्तावमा सन् २०१६ को विश्व स्वास्थ्य संगठनको प्रतिवेदनले वायु प्रदूषणलाई जनस्वास्थ्य संकटका रुपमा लिएको तथा प्रदूषणमा करिब ६० प्रतिशत हिस्सा गाडीको धुवाँका कारण भएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।