काठमाडौं- युरोपा लिग फुटबलमा आर्सनलले स्ट्यान्डर लिगलाई ४–० ले हराएको छ। जसमा १८ वर्षका गाब्रियल मार्टिनेलीले दुई गोल गरे।
खेलको १३ औँ मिनेटमा नै गोल गर्दै आर्सनललाई अग्रता दिलाएका मार्टिनेलीले १६ औँ मिनेटमा अर्को गोल गरेका थिए। २२ औँ मिनेटमा विलकले अर्को गोल थपेका थिए। पहिलो हाफ ३–० मा सकिएको खेलमा ५७ औँ मिनेटमा सेवालसले टिमका लागि चौथो गोल गरे।
ब्राजिलियन खेलाडी मार्टिनेलीले दुई गोलसँगै खेलमा पारेको प्रभावको अहिले चर्चा भइरहेको छ। नयाँ सिजन सुरु हुनुअघि उनलाई ६ मिलियन पाउण्डमा आर्सनलले ब्राजिलको क्लब इटुआनोबाट ल्याएको थियो।
यसअघि इएफएल कपमा नटिङहाम फरेस्टसँगको खेलमा दुई गोल गरेका मार्टिनेली आर्सनल समर्थकका लागि स्टार खेलाडी बनिसकेका छन्।
नटिङहामलाई ५–० ले हराउँदा उनले ३१ औँ र इन्जुरी समयमा गोल गरेका थिए।
नटिङहामसँगको खेलबाट नै मार्टिनेलीले आर्सनलमा डेब्यू गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।