नयाँ दिल्ली- भारतको राष्ट्रिय ध्वजाबाहक हवाई सेवा कम्पनी एयर इन्डियाले आफ्नो सेवालाई प्रभावकारी बनाउन 'नमस्कार सेवा' सुरु गरेको छ।
नयाँ दिल्लीस्थित विमानस्थलमा यात्रुहरुका लागि नमस्कार सेवा सुरु गरिएको अधिकारीहरुले जानकारी दिएका छन्।
नमस्कार सेवाअन्तर्गत विमान कम्पनीका कर्मचारीहरुले विमानस्थलमा आफ्ना ग्राहकहरुलाई भेट्ने, नमस्कार गर्ने, राम्रो व्यवहार गर्नेलगायत रहेको छ। कर्मचारीहरुले विमानस्थलमा प्रवेशदेखि जहाज नचढेसम्म उनीहरुलाई उच्च सम्मान गर्ने कम्पनीले जनाएको छ।
त्यसैगरी यात्रुहरुलाई फाराम भर्न, सामान लैजान, बोर्डिङ पास उपलब्ध गराउनलगायतका अन्य आवश्यक सम्पूर्ण कार्यहरु कर्मचारीहरुले नै गरीदिने भएका छन्। नमस्कार सेवा अन्तर्गतका यी सेवाहरु प्रदान गरे वापत न्यूनतम शुल्क पनि तोकेको कम्पनीले जनाएको छ।
पछिल्लो तथ्याङ्कअनुसार गत अप्रिलदेखि जुनसम्ममा यस विमान कम्पनीबाट ८० लाख यात्रुले आन्तरिक र ३५ लाख यात्रुले अन्तर्राष्ट्रिय सेवा प्राप्त गरेका छन्। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।