काठमाडौं- स्पेनिस क्लब बार्सिलोनाले च्याम्पियन्स लिग खेलमा इटालियन क्बल इन्टर मिलानलाई २–१ ले हरायो। खेलको दोस्रो मिनेटमा नै गोल खाँदै पछि परेको बार्सिलोनाको उत्कृष्ट वापसीमा लुइस स्वारेजले दुई गोल गरे।
खेलको दोस्रो मिनेटमा लाउटारो मार्टिनेजको गोलका कारण पछि परेको बार्सिलोनाको जितमा प्रशिक्षक एर्नेस्टो भालभर्देको योजना सफल भयो।
पहिलो हाफमा इन्टर मिलानको तीब्रतामा खराब डिफेन्सका कारण कमजोर देखिएको बार्सिलोना दोस्रो हाफमा निकै राम्रो देखिएको थियो।
भालभर्देले खेलको ५३ औँ मिनेटमा सर्जियो बुस्केट्सको स्थानमा आर्टुरो भिडाललाई मैदान छिराएपछि बार्सिलोनाको अट्याक थप बलियो बनेको थियो। ५८ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले बढाएको बल भिडालकै पासमा स्वारेजले उत्कृष्ट भलि गोल गरेका थिए।
अझ ६६ औँ मिनेटमा एन्टोनियो ग्रिजम्यानको स्थानमा उसमान डेम्बेले ल्याएपछि त इन्टरका डिफेन्डरलाई हम्मे परेको थियो। लगातार आक्रमणमा बढिरहेको बार्सिलोनाका लागि मेस्सीले धेरै पछि सम्हालिएको खेल देखाए।
घाइते भएर फर्किएपछि पूरा ९० मिनेट मैदानमा रहेका मेस्सीले ८४ औँ मिनेटमा बढाएको बल स्वारेजलाई पास दिँदा उनले राम्रो फिनिसिङ गरेका थिए।
भालभर्देलाई यसअघि खेलाडी लाइनअप नमिलाउने र परिवर्तन पनि राम्ररी नगर्ने आरोप लागिरहेको हुन्थ्यो। तर च्याम्पियन्स लिगमा इन्टर मिलानविरुद्ध उनको योजना पूर्ण रुपमा सफल देखियो। कमजोर भनिएका स्वारेज जितका हिरो बने। खेलमा प्रभाव पार्न नसकेका भिडालले आफ्नो उपस्थितिसँगै परिवर्तन देखाए।
ला लिगामा ७ खेलमा ४ जित १ बराबरी र २ हारसँगै तालिकाको चौथो स्थानमा छ। ला लिगाका पछिल्लो दुई खेलमा गेटाफेलाई २–० ले हराउँदा र भिलारियललाई २–१ ले हराउँदा पनि नदेखिएको भालभर्देको योजना भने इन्टर मिलानसँग नै राम्रो भएको हो।
लियोनल मेस्सीले इन्टरविरुद्ध पूरा ९० मिनेट खेलेकाले चोटले समस्यामा रहेको बार्सिलोनामा आश अझ बढेको छ। घाइते रहेका डेम्बेले पनि इन्टरविरुद्ध खेलमा फर्किएका थिए। लेफ्ट ब्याकमा खेल्ने जोर्डि अल्बा र जुनियर फ्रिपो दुवै घाइते रहँदा नेल्सन सेमेडोले राम्रो खेल देखाउन सके।
बार्सिलोनाले ला लिगा अन्तर्गत आउने सोमबार सेभियासँग खेल्दैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।