काठमाडौं- श्रीलंका विरुद्धको तेस्रो एकदिवशीय क्रिकेटमा पाकिस्तान विजयी भएको छ। कराँचीमा भएको खेलमा पकिस्तान ५ विकेटले विजयी हुँदै शृंखलामाथि नै २-० ले कब्जा जमाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरको खेलमा ९ विकेट गुमाएर २ सय ९७ रनको योगफल तयार गर्यो। श्रीलंकाका लागि दनुस्का गुनाथिलकाले शतक प्रहार गरे। प्रारम्भिक ब्याट्सम्यान गुनाथिलकाले १ सय ३३ रनको पारी खेले।
दसुन शनाकाले ४३ तथा मिनोद भानुका र कप्तान लाहिरू थिरुमानेले समान ३६ रनको योगदान दिए। पाकिस्तानका लागि मोहम्मद आमिरले सर्वाधिक ३ विकेट हात पारे।
२ सय ९८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १० अल अगावै ५ विकेट गुमाएर लक्ष्य भट्टाएको हो। पाकिस्तानका लागि फखर जमान र अविद अलीले १ सय २३ रनको साझेदारी गर्दै सटिक सुरुवात दिलाए। जमानले ७६ रनको पारी खेल्दा अलीले ७४ रन बनाए।
यसबाहेक हरिस सोहेलले ५६ रनको योगदान दिए। श्रीलंकाका लागि नुवान प्रदीपले २ विकेट लिए।
३ खेलको एकदीवशीय शृंखलामा पाकिस्तानले पछिल्ला दुवै खेल जित्दै शृंखलामाथि कब्जा जमाएको हो। पहिलो खेल वर्षाका कारण रद्द भएको थियो।
यसअघि श्रीलंकाली टोलीमाथि आतंकवादी आक्रमण भएपछि पाकिस्तानमा ८ वर्षसम्म कुनै पनि अन्तर्राष्ट्रिय क्रिकेट खेल हुन सकेको थिएन। सन् २०१७ मा श्रीलंकाले लाहोरमा टी-२० क्रिकेट शृंखलाको अन्तिम खेल खेलेको थियो। सो शृंखलाका बाँकी खेल भने युएईमा भएका थिए। सोपश्चात गत वर्ष वेस्ट इन्डिज पाकिस्तानमा गएर खेलेको थियो। यसपटक पुनः श्रीलंका नै क्रिकेट खेल्न पाकिस्तान पुगेको हो।
जारी शृंखलापछि पाकिस्तान कुनै पनि देशका खेलाडीका लागि सुरक्षित छ भन्ने सन्देश जाने विश्वास गरिएको छ।
श्रीलंकाले अब पाकिस्तानसँग लाहोरमा ३ वटा टी-२० खेल खेल्नेछ। पहिलो खेल शनिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।