काठमाडौं- नेपाल र सिंगापुरबीचको टी-२० क्रिकेट खेलमा वर्षा बाधक बनेको छ। बुधबार साँझका लागि इन्डियन एसोसियसन मैदान सिंगापुरमा तोकिएको खेल लगातारको वर्षापछि टस पनि हुन नपाई रद्द भएको छ।
योसँगै त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलामा नेपाल र सिंगापुरले १/१ अंक बाँड्न बाध्य भएका छन्। जसले गर्दा नेपालको प्रतियोगिता जित्ने सम्भावना समाप्त भएको छ।
हालसम्म ४ खेल खेलेको नेपालले १ खेलमा मात्र जित हात पार्न सकेको छ। जिम्बाबेसँगका दुवै खेल गुमाएपछि नेपाल दोस्रो स्थानमा खुम्चिएको हो। उता एक खेल खेल्न बाँकी रहेको जिम्बाबे २ जितका साथ शीर्ष स्थानमा छ। नेपालको जस्तै समान ३ अंक नै जोडेको सिंगापुर तेस्रो स्थानमा छ।
बुधबारको खेलमा नेपालले सिंगापुरलाई पराजित गर्न सकेको भए शीर्ष स्थानमा पुग्ने सम्भावना रहन्थ्यो, तर वर्षाका कारण खेल हुन सकेन।
प्रतियोगिताको अन्तिम खेलमा आज जिम्बाबे र आयोजक सिंगापुर खेल्दैछन्। आजको खेलमा जित हात पार्ने टोली नै शृंखलाको विजेता बन्नेछ।
आजको खेलमा पनि वर्षा बाधक बने जिम्बाबेले स्वतः ट्रफीमाथि कब्जा जमाउनेछ।
शृंखलामा अंकतालिकाको शीर्ष स्थानमा रहने टोली नै विजयी हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।