काठमाडौं- त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाअन्तर्गत नेपाल जिम्बाबेसँगको दोस्रो खेलमा पनि पराजित भएको छ।
इन्डियन एसोसियसन मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बाबेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन जोडेको थियो।
तर, जवाफी ब्याटिङमा उत्रिएको नेपालले पूरा २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय २० रनमात्र बनाउन सक्यो। दोस्रो खेलमा केही सुध्रिएको नेपालको ब्यटिङ पुनः निरीह सावित हुँदा नेपाल जिम्बाबेसँग ४० रनको हार बेहोर्न बाध्य भयो।
जिम्बाबेका लागि कप्तान सिन विलियम्सले ३५ बलमा ५३ रनको पारी खेले। रायन बुर्लले आउट नभई २८ र पेटर मुरले २१ रनको योगदान गरेपछि जिम्बाबेले सो योगफल तयार गरेको थियो।
नेपालका सोमपाल कामीले किफायती बलिङ गर्दै ४ ओभरमा १५ रन मात्रै खर्चिएर २ विकेट हात पारे। सन्दीप लामिछानेले २ विकेट लिँदा अभिनाश बोहराले १ विकेट लिए।
लक्ष्य पछ्याएको नेपालका विनोद भण्डारीले ३३, आरिफ सेखले २५ तथा करण केसीले १८ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गरेनन्। सिंगापुरसँग शतक प्रहार गरेका कप्तान पारस खड्का सस्तैमा आउट भए। उनले १२ रन मात्र जोड्न सके।
ब्याटिङमा अर्धसतक प्रहार गरेका जिम्बाबेका कप्तान सिन विलियम्स नेपाली ब्याट्सम्यानका लागि घातक सावित भए। विलियम्सले ४ ओभरमा २१ रन मात्र खर्चिए नेपालका ३ ब्याट्सम्यानलाई पेवेलियन फर्काए। टिनोटेन्डा मुटोम्बोड्जीले २ तथा बुर्लले १ विकेट हात पारे।
जितसँगै जिम्बाबे तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। आज नेपालले सिंगापुरसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।