काठमाडौं- आफू डिएसपी भएको बताउँदै ६ सय ग्राम सुन लुटपाटमा संलग्न भएको आरोपमा प्रहरीले प्रहरीकै असई पदमा कार्यरत प्रितम लामालाई पक्राउ गरेको छ।
लामालाई महानगरीय प्रहरी परिसरको टोलीले मंगलबार साँझ ललितपुरबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसरका प्रमुख उत्तमराज सुवेदीले जानकारी दिए।
'असई लामा पनि सुन लुटपाटको सो घटनामा संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गर्छ,' परिसर प्रमुख सुवेदीले भने।
लामा महानगरीय प्रहरी परिसरमा नै सादा पोसाकमा खटिने असई पदमा कार्यरत कर्मचारी हुन्।
राकेश तामाङ र लामा मिलेर २ साताअघि काठमाडौंको बौद्धस्थित एक सुनचाँदी व्यवसायीको पसलबाट ६ सय ग्राम सुन लुटेका थिए।
सुन किन्ने बाहनामा लामाको समूहले सुन लुटपाट गरेको बताइएको छ। सुन लुटेपछि लामा भने कार्यालयबाट बिदा लिएर फरार रहेका थिए।
व्यापारीले दिएको उजुरीका आधारमा प्रहरीले लामालाई पक्राउ गरेको हो।
सोही घटनमा संलग्न भएको आरोप लागेका अर्का व्यक्ति राकेश तामाङ भने यसअघि नै पक्राउ परिसकेका छन्।
सोमबार पक्राउ परेका राकेश र लामा दुवै लिखु तामाकोशी गाउँपालिकाका स्थायी बासिन्दा हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।