काठमाडौं– झापा प्रहरीले ठूलो मात्रामा बिस्फोट पदार्थ बरामद गरेको छ। झापको अर्जुनधारा नगरपालिका–१ सिस्ने भन्ने स्थानमा भण्डारण गरी राखेको निओजिल–९० लेखिएको हाइ स्क्सप्लोसिभ बिष्फोटक पदार्थ करिब २५ किलो आइतबार साँझ प्रहरीले बरामद गरेको हो।
उक्त स्थानमा बिष्फोटक पदार्थ लुकाई भण्डारण गरेको भन्ने सूचना आएपछि जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जुटको बोरामा लुकाई भण्डारण गरी राखेको अवस्थामा उक्त परिणामको विष्फोटक पदार्थ फेला पारी बरामद गरेको हो।
उक्त विष्फोटक पदार्थ चियाको बोटमा हाल्ने औषधी हो भनी झापा हल्दिवारी गाउँपालिका–५ बस्ने ४४ वर्षीय टिका पोखरेल, इलाम माङ्सेबुङ गाउँपालिका–१ बस्ने ३४ वर्षीय मनिष भन्ने प्रविन मिश्र र मकवानपुर भिमफेदी गाउँपालिका–२ बस्ने २६ वर्षीय अनुल सारु मगर समेतले करिव १ महिना अगाडि उक्त स्थानमा ल्याई लुकाई भण्डारण गरी राखेको प्रारम्भिक अनुसन्धानवाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
टिका, प्रविन र अनुललाई गत भदौ ३० गते विभिन्न हातहतियार सहित पक्राउ गरिएको थियो। उनीहरु तीनै जना नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकर्ता हुन्। पक्राउ परेका मिश्र झापा जिल्ला सेक्रटरी हुन् भने पोखरेल जनसरकार प्रमुख हुन्। मगर भने कार्यकर्ता हुन्। उनीहरुकै सूचनाका आधारमा प्रहरीले विस्फोटक पदार्थको गोदाममा पुगेको थियो।
उनीहरु उपर हातहतियार खरखजाना, बिष्फोटक पदार्थ, राज्य बिरुद्धको कसूर, जबरजस्ती चन्दा असुली र संगठित अपराध अन्तर्गत झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ।
यो पनि पढ्नुहोस्
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।