काठमाडौं– प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् (सिटिइभीटी) का एक कर्मचारीले चेक चोरी गरेर कीर्ते हस्ताक्षर गरी करोडौं रुपैयाँ निकालेको पाइएको छ।
परिषद्को प्रदेश कार्यालय २ अन्तर्गत सञ्चालित विपी मेमोरियल पोलिटेक्निल इन्स्टिच्युट लक्ष्मनिया–४ धनुषाका सहायक ल्याब प्रशिक्षक प्रवीणकुार ठाकुरले सिटिइभिटीकै चेक चोरेर कीर्ते गरेर रकम निकालेका हुन्।
उनले १ करोड ७८ लाख १ हजार ९ सय रुपैयाँ निकालेको पाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले जानकारी दिए।
४२ वर्षीय ठाकुरले विभिन्न मितिमा चेक चोरेर सिटिइभिटीकै लेखापाल सन्तोषकुमार यादवको कीर्ते हस्ताक्षर गरेर रकम निकालेको पाइएपछि धनुषा प्रहरीले उनलाई पक्राउ समेत गरेको छ। उनले लेखापालको हस्ताक्षर कीर्ते गरेर छुट्टा छुट्टै व्यक्तिको नामबाट रकम निकालेको पाइएको छ।
त्यसैगरी ठाकुरले जनकपुर उपमहानगरपालिका–९ स्थित रामानन्द चोकमा सञ्चालित प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् प्रदेश २ को कार्यालयबाट चेक चोरेर लेखापाल ब्रहमदेव ठाकुरको हस्ताक्षर कीर्ते गरेर रकम निकालेको पाइएको छ।
कीर्ते गरेर रकम निकाली फरार भएका उनलाई आइतबार धनुषाको मुखियापट्टीबाट पक्राउ गरिएको हो। उनीलाई चोरी तथा लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।