१. बुद्ध
शास्त्रीय बुद्ध , बेकार, बेकार, बेकार, बेकार !
मलाई लाग्दैन
गेरुवस्त्रले
मान्छेलाई बाँधेको फलाम काट्न
हयाक्सोको काम गर्छ ।
धर्मले कुन मान्छेको घाउ निको पारेको छ !
विश्वको कुनै पनि धर्मले बादल चिरेको छैन
खुला आकाश हाम्रो आँखा अगाडि राखेको छैन
बादलबाट
आँखा हटाएको छ बरू, आँखा हटाएको छ
धर्मः सिर्फ मर्फियाको इन्जेक्सन !
बुद्ध ! सैनिक पोशाक लाउँछौ ??
२. चट्टान जस्तो आकाशमा
कहाँ हुन्छ पर्खेर त्यसरी
पर्खनुपर्छ
केही समय उभिनुपर्छ
तर, हुन्छ सिमा सबैको
बादलहरुको किनारामा बसेको
चट्टानजस्तो आकाशहरुमा बगिरहेको
सिरेटोले के साउती मार्दै छ तिम्रो कानमा?
याद भएन ?
कहाँ हुन्छ पर्खेर त्यसरी,
त्यसरी त रात पर्छ,
कामहरु अझै थुप्रै
खेतमा,करेसामा, चुलामा
कहाँ हुन्छ पर्खेर त्यसरी
ढिलो भइसक्यो
अब त
हतार-हतार डल्ला ठोक, ठोक्नुपर्छ।
(२०२८ कात्तिक १९ गते जन्मिएका धरानका कवि विमल गुरुङको २०४८ बैशाख २४ मा सवारी दुर्घटनामा निधन भएको थियो । उनले २०४५ सालतिर धरानको बुद्धचोकमा बुद्ध वाचनालय खोलेका थिए । उनको स्मृतिमा परिवारले धरानमा 'कवि विमल स्मृति पुस्तकालय' स्थापना गरेर बर्सेनि कविता प्रतियोगिता समेत आयोजना गर्दै आएको छ।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।