राजविराज– राजविराज नगर बाल सञ्जालले शिक्षा क्षेत्रमा देखिएको विकृति र लापरवाहीको अन्त्य गर्न १४ बुँदे मागसहित जिल्ला शिक्षा कार्यालय र नगरपालिका कार्यालयलाई १० दिने अल्टिमेटम दिएको छ।
बाल सञ्जालका पदाधिकारीहरुले बुधबार पत्रकार सम्मेलन गरी १० दिनभित्र सम्पूर्ण माग पूरा गर्ने लिखित सहमति र आधार तयार नभए जिल्ला शिक्षा कार्यालयमा अनिश्चितकालीन तालाबन्दी र कार्यालयको सवारी साधनमा अवरोध गर्ने तथा एक दिन नगरपालिकाको कामकाज ठप्प पार्ने चेतावनी दिएका छन्।
उनीहरुले बन्द–हडतालमा विद्यालय बन्द गर्न नपाइने, देशभरिका शिक्षकहरुको प्रमाणपत्र जाँच गरी नक्कली शिक्षकलाई कारबाही गर्नुपर्ने, शैक्षिक सत्र सुरु भएको २५ दिनभित्र हरेक विद्यालयमा पाठ्यपुस्तक पुर्याउने व्यवस्था मिलाउनुपर्ने, पठनपाठनको अवस्थाबारे अनुगमन र सुधारका लागि पहल गर्नुपर्ने लगायत माग गरेका छन्।
२०७३ बैशाखदेखि आफूहरुले उठाउँदै आएका १४ बुँदे मागमा हालसम्म कुनै पनि निकायले वास्ता नगरेपछि आफूहरुले बाध्य भएर आन्दोलनको निर्णय गर्नुपरेको सञ्जालका अध्यक्ष मो. जकाउल्लाहले बताए।
‘प्रमुख जिल्ला अधिकारी मार्फत एक वर्षअघि नै राष्ट्रपति, प्रधानमन्त्री र शिक्षा मन्त्रीलाई हाम्रा माग राखेका थियौं’, जकाउल्लाहले भने, ‘तर अहिलेसम्म कसैको पनि यसतर्फ ध्यान गएको पाइएन।’
सञ्जालले यिनै माग राखी असार २४ गते राजविराजमा रिले अनसन समेत गरेको थियो। त्यस लगत्तै असोज १८ गते अनिश्चितकालीन हडताल सुरु गरेका विद्यार्थीलाई नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले सबै माग सम्बोधन गर्ने आश्वासन दिँदै आन्दोलन फिर्ता गर्न लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।