काठमाडौं- स्पेनिस ला लिगामा नयाँ सिजनमा तीन खेलाडी एन्टोनियो ग्रिजम्यान, इडन हाजार्ड र जोआओ फेलिक्समाथि दर्शकको आश ठूलो थियो। त्यसमा सिजन सुरु हुनअघिको चर्चा सिजनको सात खेल सकिँदा भने छैन।
क्रिष्टियानो रोनाल्डो इटाली लागेपछि लियोनल मेस्सीमाथि टिकेको ला लिगाको उत्साहमा उनी घाइते भएसँगै कमि आयो। त्यो कमि पूरा गर्न ग्रिजम्यान, हाजार्ड र फेलिक्सको चर्चा चले पनि त्यसो हुन सकेको छैन। ला लिगामा नयाँ स्टारको खोजी अझै भइरहेकै छ।
एथ्लेटिको मड्रिडबाट बार्सिलोना आएका ग्रिजम्यान अफिसियल ८ खेलमा ७ सय ५ मिनेट मैदानमा छन्। जसमा उनले ३ गोल गरेका छन् भने दुई गोलका लागि अवसर मिलाएका छन्।
चेल्सीबाट रियल मड्रिड आएका हाजार्डले अफिसियल ३ खेलमा १९७ मिनेट मैदानमा बिताएका छन्। जसमा उनले गोल र असिस्ट गर्न सकेका छैनन्।
बेनफिकाबाट एथ्लेटिको मड्रिड आएका फेलिक्सले अफिसियल ८ खेलमा १ सय ९७ मिनेट मैदानमा बिताएका छन्। जसमा २ गोल गरेका उनले १ गोलका लागि अवसर पनि बनाएका छन्।
उनीहरुको खेल सोचेअनुसार हुन नसक्दा ला लिगामा गएको खेलमा तीनै खेलाडी परिवर्तन गरिएका थिए। बार्सिलोनाले गेटाफेसँग खेलेको खेलमा ग्रिजम्यान ७४ औँ मिनेटमा बाहिरिएका थिए। मड्रिड डर्बीमा फेलिक्स पनि ७० मिनेट मात्रै मैदानमा रहे। ७७ औँ मिनेटमा हाजार्डको स्थानमा पनि जेम्स रोड्रिग्वेजलाई ल्याइएको थियो।
यी तीन खेलाडीलाई गरेर ३ सय मिलियन युरोभन्दा बढी खर्च भएको छ। तर अहिलेसम्म उनीहरुले आफ्नो स्तर अनुसारको खेल भने देखाएका छैनन्।
ग्रिजम्यानको हकमा घरेलु मैदानमा रियल बेटिस र भिलारियलसँग खेल्दा उनको खेल चलेको थियो, तर अवे मैदानमा कमजोर देखिने बार्सिलोनाको शैलीमा उनले पनि परिवर्तन ल्याउन भने सकेनन्।
हाजार्डको स्थिति त अझ खराब रह्यो। चोटका कारण मैदानबाहिर रहनुपर्ने समस्याले पनि उनलाई गाल्यो। गोल र असिस्टको पर्खाइमा रहेका उनी अहिले चोटबाट बाहिरिए पनि खेलको लय समात्न सकेका छैनन्।
ग्रिजम्यान र हाजार्डको तुलनामा केही ‘स्टार’ छबी प्रमाणित गरिरहेका फेलिक्सको खेल पनि सोचेअनुरुप छैन। १९ वर्षका फेलिक्ससँग आफूलाई प्रमाणित गर्ने अवसर अझै आउने नै छन् तर क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीले चम्काएको ला लिगालाई अझ स्तरीय बनाउन थप मेहनत भने आवश्यक नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।