काठमाडौं- जिम्बाबलाई सिंगापुरले हराएपछि नेपाल त्रिकोणात्मक क्रिकेट शृंखलाको शीर्ष स्थानमा उक्लिएको छ।
शृंखलाको तेस्रो खेलमा घरेलु टोली सिंगापुरले जिम्बाबेमाथि रोमाञ्चक जित निकाल्दै अंकतालिकामा २ अंक जोडेको हो।
इन्डियन एसोसियसन ग्राउन्डमा ओसिलो मैदानका कारण १८ ओभरमा छोट्याइएको खेलमा सिंगापुरले दिएको १ सय ८२ रनको लक्ष्यभन्दा जिम्बाबे ४ रनले मात्रै पछि परेको हो।
निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा सिंगापुरले १ सय ८१ रनको योगफल तयार गरेको थियो। टिम डेभिड र मनप्रित सिंहले विस्फोटक पारी खेलेपछि सिंगापुरले जिम्बाबेसामू विशाल लक्ष्य पेस गरेको हो।
दुवैले समान ४१ रन जोडेका थिए। तर, मनप्रितले भन्दा एक बल बढी (२४ बल) खेलेका टिमले आफ्नो पारीमा ४ छक्का र २ चौका प्रहार गरेका थिए। यसअघि प्रारम्भिक ब्याट्सम्यान रोहन रंगराजनले २२ बलमा ३९ रनको पारी खेल्दै सिंगापुरलाई सटिक सुरुवात दिलाएका थिए।
जिम्बाबेका रायन बुर्लले ३ तथा रिचार्ड नगर्भाले २ विकेट हात पारे।
१ सय ८२ रनको लक्ष्य पछ्याएको जिम्बाबेका लागि कप्तान सिन विलियम्सले कप्तानी पारी खेले पनि सो जितका लागि पर्याप्त बनेन। ३५ बलमा ६६ रन बनाउने क्रममा उनले समान ५/५ चौका र छक्का हिर्काएका थिए।
१५ बलमा १९ रन चाहिएको अवस्थामा कप्तान विलियम्स अमजद महबुबको सिकार बनेपछि जिम्बाबेको जितको सम्भावना टरेको थियो। विलियम्स आउट भएपछि जिम्बाबेले लगातार विकेट गुमाएको थियो।
यसअघि प्रारम्भिक ब्याट्सम्यान रेगिस चाकब्भाले जिम्बाबेका लागि विष्फोटक सुरुवात दिलाएका थिए। २ सय ५२ को स्ट्राइकरेटमा उनले ४८ रन बनाए। मात्र १९ बलको सामना गरेका उनले आफ्नो पारीमा ६ चौका र ३ छक्का हिर्काएका थिए। तिनोटेन्डा मुतोम्बोड्जीले ३२ रनको पारी खेले।
सिंगापुरका अम्जद महबुब र जनक प्रकाशले समान २/२ विकेट हात पारे।
सिंगापुरको जितपछि शृंखलामा तीनवटै टीमले जित हात पारेका छन्। सबै टोलीले समान १/१ खेलमा हार बेहोरे पनि नेट रनरेटका आधारमा नेपाल अंकतालिकाको शीर्ष स्थानमा छ।
नेपालले अब मंगलबार पुनः जिम्बाबेसँग खेल्दैछ। पहिलो खेलमा ५ विकेटको हार बेहोरेको नेपाल जिम्बाबेविरुद्ध मैदानमा उत्रिँदा सो हारको बदला तिर्ने दाउमा हुनेछ।
उक्त खेलमा जित हात पारे नेपाल फाइनलमा पुग्ने सम्भावना बलियो हुनेछ। नेपालले बुधबार सिंगापुरसँग खेल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।