रियाद- साउदी अरबका राजाका अङ्गरक्षक अब्दुल अजिज अल-फागमलाई आफ्ना साथीको घरमा गएका समय गोली हानी हत्या गरिएको छ। साउदी प्रेस एजेन्सीले आइतबार जनाएअनुसार फागमलाई शनिबार साँझ गोली हानी हत्या गरिएको थियो।
मक्का प्रहरीका प्रवक्ताले घटनाको पुष्टि गरेका छन्। जेद्दाहस्थित साथीको घरमा गएका राजाका अङ्गरक्षकसँग चर्को भनाभनपछि एक्कासी बाहिर गएका फागमका साथीले फर्किँदा बन्दुक लिएर आएका थिए।
हत्याराले आफ्नै भाइ, राजाका अङ्गरक्षक र एक फिलिपिनी कामदारमाथि अन्धाधुन्ध गोली चलाउँदा सख्त घाइते भएका प्रहरी प्रवक्ताले जनाएका छन्। झडपबारे सूचना पाएपछि प्रहरी तत्काल घटनास्थल पुगेको र हत्यारासँगको दोहोरो भिडन्तमा ५ जना प्रहरीसमेत घाइते भएका बताइएको छ। झडपमा अङ्गरक्षकमाथि आक्रमण गर्ने व्यक्ति पनि मारिएको प्रहरीले बताएको छ।
उक्त स्थानमा भएको झडपमा घाइते बनेका अन्य सबै ७ जनाको अवस्था स्थिर रहेको बताइएको छ। सम्वद्ध अधिकारीले घटनाबारे तत्काल अनुसन्धान सुरू गर्ने भन्दै यसबारे थप जानकारी अनुसन्धानपछि बाहिर आउने बताए।
अल-फागम साउदी अरबका पूर्व नरेश अब्दुल्लाह विन अब्दुल्लाजिज अल साउदका पनि अङ्गरक्षक थिए। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।