बैंकक- थाइल्यान्डमा ‘पिक-अप ट्रक’ले सडकको मार्ग परिवर्तन गर्ने क्रममा दुर्घटना हुँदा उक्त ट्रकमा यात्रा गरिरहेका अधिकांश विद्यार्थीसहित कम्तीमा १३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
सिसिटिभीमा रेकर्ड भएको दृष्यमा ट्रकले नियन्त्रण गुमाएर लड्ने क्रममा ट्रकको पछाडिको भागबाट केही व्यक्ति सडकमा पछारिन पुगेका देखिएको छ। राजधानी बैंककमा भएको दुर्घटनाबारे प्रहरी अधिकृत सामरान चाइताओले भने, 'आइतबार भएको सडक दुर्घटनामा १२ जनाको घटनास्थलमा र एकको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ।'
मृतकमध्ये ९ जना कलेजस्तरका विद्यार्थी रहेका र उनीहरूले स्थानीय एक कम्पनीमा प्राविधिक तालीम लिएर घर फर्कँदै रहेको बुझिएको छ। दुर्घटनामा घाइते भएका अन्य ५ मध्ये २ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको सामरानले बताए।
विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो तथ्याङ्कअनुसार थाइल्यान्डमा हरेक एक लाख व्यक्तिमध्ये ३२ जनाको सडक दुर्घटनाका कारण मृत्यु हुने गरेको छ। यो अमेरिकाको तुलनामा दोब्बरभन्दा बढी हो। रासस/एएएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।