नगरकोट- केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई आज बिदाइ गरिएको छ।
शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिर दर्शन गर्न आएका ती साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाइ गरिएको हो। डोलेश्वर आएका झन्डै ५ सय साधुसन्तमध्ये आज ३ सय बिदाइ कार्यक्रममा सहभागी भएका थिए। बाँकी साधुसन्त बिदाइ कार्यक्रममा सहभागी नभईकन फर्केको उक्त मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष विदुरमान सिंह बस्नेतले बताए।
यहाँ आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको समितिका सचिव तथा प्रचारप्रसार समितिका संयोजक मोहनबल्लले बताए। ‘क’ वर्गका साधुसन्तलाई नगद रु १ हजार १ सय, ‘ख’ वर्गलाई नगद रु ७ सय ७ र ‘ग’ वर्गलाई नगद रु ५ सय ५ तथा प्रत्येकलाई एक थान कम्बल र एक थान धोती प्रदान गरिएको उनले जानकारी दिए।
डोलेश्वरमा विगत केही वर्षदेखि साधुसन्तको आगमन हुँदै आएको छ। शिवरात्रि पर्वमा एक हप्ता अघिदेखि देशका विभिन्न भाग तथा भारतबाट साधुसन्त यहाँ आएका थिए।
मन्दिर परिसरमा जम्मा भएका साधुसन्तलाई समितिले खानपान लगायत धुनी बाल्न दाउराको समेत व्यवस्था गरेको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।