काठमाडौं- यु १८ साफ च्याम्पियनसिपमा भुटानलाई हराउँदै माल्दिभ्स तेस्रो भएको छ। सातदोबाटो स्थित एन्फा मैदानमा भएको खेलमा माल्दिभ्स १–० ले विजयी भएको हो।
आइतबार नै दिउँँसो साढे २ बजे हल्चोक मैदानमा भारत र बंगलशादेशबीच फाइनल खेल हुँदैछ। भारत र बंगलादेशमा जसले जिते पनि नयाँ विजेता बन्नेछन्। यसअघिको दुवै संस्करण नेपालले जितेको थियो।
प्रतियोगिताकै सबैभन्दा सफल टोली नेपाल यसपटक समूह चरणबाट नै बाहिरिएको थियो।
समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी खेल्दै १ अंक जोडेको थियो। दोस्रो खेलमा भने नेपाल भुटानसँग ३–० ले पराजित भएको थियो।
२०१७ को सेप्टेम्बरमा भुटानमा भएको यु १८ साफ च्याम्पियनसिपमा बंगलादेशलाई फाइनलमा हराएर उपाधि जितेको नेपालले यसपटक घरेलु मैदानमा दर्शकको साथ पाए पनि सोचेअनुसार खेल्न सकेन। २०१७ को यु १८ साफमा समूह चरणमा भुटानसँग १–० ले पराजित भए पनि नेपालले उपाधि जित्न सकेको थियो। यसपटक भने भुटानसँगको हार नै समूह चरणबाट बाहिरिन पर्याप्त भयो।
त्यसअघि २०१५ मा नेपालमा नै आयोजना भएको यु १९ साफ च्याम्पियनसिपमा पनि नेपालले फाइनलमा भारतलाई पराजित गर्दै उपाधि जितेको थियो। पहिलो प्रतियोगिता यु १९ को स्वरुपमा गरिए पनि दोस्रोदेखि साफले यु १८ का रुपमा प्रतियोगिता गर्न थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।