बेइजिङ- चीनको खुद्रा बिक्री दर सन् २०१८ मा सामान्य वृद्धि भएको यहाँको वाणिज्य मन्त्रालयले जनाएको छ।
गत वर्षको बिक्री परिमाण ४.७४ ट्रिलियन अमेरिकी डलर पुगेको मन्त्रालयद्वारा शनिबार सार्वजनिक रिपोर्टमा उल्लेख छ। यो अघिल्लो वर्षको तुलनामा ८.९ प्रतिशतले वृद्धि हो।
मन्त्रालयका अनुसार सन् २०१८ को अन्त्यसम्ममा खुद्रा व्यापारिक औद्योेगिक इकाइहरूको सङ्ख्या दुई करोड ८० लाख पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ७.८ प्रतिशतले बढी हो।
साङ्घाई र सेनजेन स्टक बजारमा सूचिकृत ८५ खुद्रा कम्पनीमध्ये आधाभन्दा बढीले गत वर्ष खुद नाफा गरेका र यीमध्ये पनि १० वटा कम्पनीको आम्दानी अघिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएको तथ्याङ्कमा छ।
गत वर्ष अनलाइनमार्फत भएको खुद्रा व्यापार अघिल्लो वर्षको तुलनामा २३.९ प्रतिशतले वृद्धि भई ९ ट्रिलियन यूआन पुगेको छ। गत वर्ष ग्रामिण क्षेत्रको कारोबारमा ३०.४ प्रतिशतले वृद्धि भई १.४ ट्रिलियन यूआन पुगेको पनि रिपोर्टमा उल्लेख छ।
सन् २०१८ मा मनोरञ्जन तथा सुविधाजन्य र सुपरमार्केटबाट हुने बिक्री क्रमशः ८.३ प्रतिशत र ४.३ प्रतिशतले वृद्धि भएको छ भने यसबाट अघिल्लो वर्षको तुलनामा क्रमशः सेयरमा एक प्रतिशत र ०.५ प्रतिशतको वृद्धि भएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।