काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) को आज हुने निर्वाचनमा ६ जना निर्विरोध निर्वाचित भएका छन्।
महिला सदस्यमा एक जनाको मात्र उम्मेदवारी परेकाले जयन्ती भट्ट निर्विरोध भएकी हुन्। यसैगरी प्रदेश २ बाट दाउद अन्सारी मोहम्मद, गण्डकी प्रदेशबाट ऋषिराम गौतम, प्रदेश ५ बाट प्रशान्त विक्रम मल्ल र कर्णाली प्रदेशबाट पदमबहादुर खड्का निर्विरोध निर्वाचित भएका हुन्। सुदूरपश्चिम प्रदेशबाट भने विक्रम विष्ट निर्विरोध निर्वाचित भएका हुन्।
प्रदेशबाट १/१ जना सदस्य निर्वाचित हुनुपर्ने व्यवस्था अनुसार उनीहरु एक जनाको मात्रै उम्मेदवारी परेको थियो।
प्रदेश १ मा कैलाश विष्ट र लाक्पा लामा तथा प्रदेश ३ मा अमीत वीर पाण्डे र केलाश प्रदानबीच प्रतिस्पर्धा हुने भएको छ।
क्यानको अध्यक्षका लागि विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच प्रतिस्पर्धा हुनेछ। उपाध्यका लागि मिङ्मा डण्डु शेर्पा र राजुबाबु श्रेष्ठको उम्मेदवारी परेको छ। सचिवमा अशोकनाथ प्याकुरेल र विनोदकुमार मैनाली, कोषाध्यक्षमा रोशनकुमार सिंह र उपेन्द्र भट्टराईको उम्मेदवारी परेको छ।
क्यानमा १७ सदस्यीय कार्यसमिति चयन हुनेछ।
काठमाडौंको म्यारिएट होटलमा जारी निर्वाचनमा दिउँसो १ बजेदेखि मतदान हुने कार्यक्रम छ। आजै मतगणना भई अन्तिम नजिता सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।