काठमाडौँ- काठमाडौँ महानगरपालिका–१२ स्थित टेकुका स्थानीयवासी काठमाडौं महानगरपालिकाको वातावारण व्यवस्थापन विभागमा धर्ना दिएका छन्।
फोहर व्यवस्थापनमा लापरबाही भएका कारण वातावरण बिग्रिएको, स्थानीय जनजीवनमा प्रतिकूल असर परेको भन्दै उनीहरुले बिहान ९ बजेदेखि धर्ना दिएका हुन्।
महानगरपालिकाले काठमाडौँका विभिन्न वडाबाट संकलन हुने फोहरलाई टेकुस्थित फोहर संकलन केन्द्रमा जम्मा गरेर ल्यान्डफिल साइट, सिसडोल लगायत स्थानमा फोहर लैजाने गर्दछ।
ल्यान्डफिल्ड साइटमा केही दिनदेखि फोहर व्यवस्थापन हुन नसकेका कारण काठमाडौँमा विभिन्न स्थानमा जम्मा भएको फोहर एकैपटक टेकुमा ल्याउन थालिएकाले दुर्गन्ध फैलिएको स्थानीयवासीको भनाइ छ।
कामपा–१२ का वडा अध्यक्ष विकास महर्जनले फोहर व्यवस्थापनमा ढिलासुस्ती भएका कारण विभिन्न रोगको संक्रमण बढने खतरा रहेकाले स्थानीयवासीले विरोध गरेको जानकारी दिँदै चाडबाडका समयमा फोहर व्यवस्थापन छिटोछरितो गर्न वैकल्पिक उपाय अपनाउनका लागि छलफल गरिने जानकारी दिए।
वातावारण व्यवस्था विभागमा इञ्जिनियर रवीनमान श्रेष्ठले स्थानीयवासीले अवरोध गरेका कारण काठमाडौँको फोहर व्यवस्थापन गर्न नसकिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।