जनकपुर- महोत्तरीको एकडारा गाउँपालिकाकी एक महिलालाई सोही गाउँपालिका-४ बस्ने सुरेश बैठाले भारतमा लगेर बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पीडित पक्षबाट असोज ९ गते उजुरी परेको छ।
भारतमा बेचिएको स्थानबाट २५ दिनपछि भागेर घर फर्किन सफल भएकी ती महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।
बैठाले प्रेमजालमा पारेर भारतको विहारस्थित सीतामढी सहरमा लगेर बेचेकोमा त्यहाँबाट भागेर असोज ८ गते घर आएपछि उनका पति र आफन्तले जिल्ला प्रहरी कार्यालयमा सो घटनाबारे जानकारी गराएका थिए।
बैठाले उनलाई प्रेममा फसाएर बिहे गर्छु भन्दै गत भदौ १४ गते नै घरबाट भगाएर लगेको र सीतामढीस्थित एउटा घरमा बन्द गरेर भागेको जिल्ला प्रहरी कार्यालयमा पीडितले बयान दिएकी छिन्। घरबाट भागेर गइरहेकै बेला बैठाले बसमै आफूले लगाएको गरगहना सहित ५० हजार समेत लिनुका साथै सीतामढीको एउटा घरमा बन्द गरेर भागेको उनले बताइन्।
बैठाले छाडेर हिँडेपछि उसको बाटो कुर्दाकुर्दै नआएकाले बाहिर निस्कन खोज्दा आफूलाई दुई-तीन जना पुरुष र महिलाले समातेर राख्दै 'तिमी बेचिएकी छौँ। अब यहीँ बस्नुपर्छ र यहीँ तिम्रो बिहे हुन्छ' भनेकाले आफू बेचिएकी थाहा पाएको उनले सुनाइन्।
ती महिला बेपत्ता भएको भदौ १४ गतेदेखि नै उनका पति र आफन्तले खोजी गर्दै प्रहरीमा बेपत्ता भएको खबर गरेका थिए। अभियुक्त बैठाले नै उनलाई बेपत्ता बनाएको भन्दै बैठाउपर शरीर बन्धक मुद्दा दायर गर्न खोज्दा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको पीडित पक्षको आरोप छ।
अहिले महिला बेचिएको ठाउँबाट भाग्न सफल भई प्रहरीमा उजुरी दिएपछि बैठालाई पक्राउ गर्न प्रहरी खटाइएको जिप्रका महोत्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।