चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं ६, बछ्यौलीमा रहेको एनसेलको टावर र उपकरणमा गएराति अज्ञात समूहले कुकर बम विस्फोट गराएको छ।
रत्ननगर इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाका अनुसार राति करिब १२ बजेको समयमा बम विस्फोट भएको थियो।
विस्फोटनबाट एनसेलको उपकरणमा क्षति पुगे पनि टावरमा भने केही नभएको उनले बताए। विप्लव नेतृत्वको नेपाल कम्युनिस्टका कार्यकर्ताले विस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।
स्थानीय शिवनारायण चौधरीको जग्गा भाडामा लिएर एनसेलले उपकरण र टावर जडान गरेको थियो।
प्रहरी नायब उपरीक्षक खतिवडाले एनसेलका बिटिएस राखिएका अधिकांशस्थल मानवबस्ती कम भएको ठाउँमा रहेको र सुरक्षागार्ड नराखेका कारण सुरक्षा समस्या देखिएको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।