राजविराज- देशव्यापी रुपमा प्रहरीको चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक भइरहेका बेला सप्तरी प्रहरीले भने ‘एक वर्षे सुरक्षा रणनीति’ सार्वजनिक गरेको छ।
प्रहरी संगठनको आन्तरिक सुद्धीकरण, प्रहरीको व्यवहार परिवर्तन गर्दै जिल्लामा आपराधिक कृयाकलाप नियनत्रण र शान्ति सुरक्षाको प्रत्याभूति गराउन रणनीतिक योजना तयार गरिएको हो।
सप्तरीका सिडिओ सुनिल खनालको उपस्थितिमा बुधबार जिल्ला प्रहरी कार्यालयमै पत्रकार सम्मेलन गरेर सुरक्षा रणनीति सार्वजनिक गरिएको हो।
एक वर्षे सुरक्षा रणनीतिमार्फत प्रहरीको कार्यशैलीप्रति आमनागरिकमा जनविश्वास वृद्धि, स्वच्छ छविको मर्यादित सभ्य प्रहरी सेवा स्थापित भई संस्थागत विकासमा टेवा, हरेक तहका प्रहरी कर्मचारीहरुमा जवाफदेहीता, उत्तरदायित्व र जिम्मेवारीको बोध, प्रहरी र आमनागरिकको सम्बन्ध सुमधुर बनाई जनविश्वास फराकिलो, ट्राफिक व्यवस्थापनमा सुधार एवं सवारी दुर्घटनामा न्यूनीकरण, अपराध अनुसन्धान तथा नियन्त्रणमा प्रभावकारीता लगायतको अपेक्षा राखिएको एसपी कृष्ण प्रसाईंले बताए।
यसका लागि 'समुदाय प्रहरी साझेदारी कार्यक्रम'लाई थप प्रभावकारी रुपमा परिचालन गरी समन्वय तथा सहकार्य, स्थानीय नागरिक तथा अन्य निकायहरुसँग महिनाको एक दिन सुनुवाई, ‘क्लिन, ग्रिन एन्ड सेफ सप्तरी’, ‘रन एन्ड फन’ जस्ता विशेष कार्यक्रम सञ्चालन गरी सरसफाई र वातावरणीय प्रवर्द्धनमा सरोकारवाला निकाय र समुदायसँग सहकार्य गर्ने प्रसाईंको भनाइ छ।
यसैगरी, लागुऔषध सेवन, अवैध मदिरा उत्पादन, बिक्रीवितरण तथा मादक पदार्थ सेवन नियन्त्रणका लागि अभियानकै रुपमा सम्बद्द पक्षसँग समन्वय गरी जनचेतना कार्यक्रम सञ्चालन गर्ने, चेलिबेटी बेचबिखन तथा महिला हिंसा, लैङ्गिक नीतिको अवधारणा अनुरुप परिणाममुखी सचेतनात्मक कार्यक्रमहरु सन्चालन गर्ने, जनतासँग चिया कार्यक्रम सञ्चालन गरी समसामयिक शान्ति सुरक्षासँग सम्बन्धित विषयहरुमा केन्द्रित रही छलफल तथा अन्तरक्रियात्मक कार्यक्रम गर्ने, ट्राफिक नियमको पालना, सवारी दुर्घटना न्यूनीकरण तथा सोसम्बन्धी सचेतनामूलक सडक संकेत बोर्ड, ब्यारियर राख्ने, प्रहरीसँग एक दिन कार्यक्रम सञ्चालन गरी बालबालिकालाई बाल अपराध तथा अन्य विविध विषयहरुमा कक्षा सञ्चालन, दैवीप्रकोप न्यूनीकरण तथा विपद् व्यवस्थापन जस्ता सचेतनामूलक कार्यक्रम, आत्महत्या न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रमलाई रणनीतिमा समेटिएको छ।
अपराध अनुसन्धान तथा नियन्त्रणतर्फ फरार अपराधी पक्राउ गर्ने अभियान सञ्चालन गरी कानुनी दायरामा ल्याइने, भन्सार चोरी निकासी नियन्त्रण गर्न सिमावर्ती प्रहरी युनिटहरु तथा जिल्ला प्रहरी कार्यालय समेतबाट प्रहरी परिचालन गर्ने, लागुऔषध दुर्व्यसनी, ओसारपसार तथा बिक्रीवितरण नियन्त्रणका लागि चरणबद्द रुपमा सचेतनामूलक कार्यक्रम गर्ने, दण्डहिनताको अन्त्य गर्न जटिल प्रकृतिका विचाराधीन मुद्दाहरुको सुक्ष्म अनुसन्धान गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने र झुटा मुद्दा आउने प्रवृत्तिलाई निराकरण गर्न सरोकारवाला निकायहरुसँग समन्वय गरिने विषयलाई रणनीतिमा समेटिएको छ।
चाडपर्व लक्षित योजना
चाडपर्वको बेला हुने जुवा, तास, अत्याधिक मदिरा र लागुऔषधको सेवन, सीमा क्षेत्रमा हुने राजस्व छलि, ट्राफिक व्यवस्थापनलगायतको क्षेत्रमा आवश्यक सुरक्षा व्यवस्था मिलाइएको पत्रकार सम्मेलनमा प्रसाईंले बताए।
जिल्ला सुरक्षाका लागि जनशक्तिको अभाव भए पनि भएकै जनशक्तिको उच्चतम परिचालन गरी शान्ति सुरक्षा सुदृढ बनाउने उनको दाबी छ। धार्मिक स्थल, पर्यटकीय क्षेत्र तथा अत्याधिक भिडभाड हुने सार्वजनिक स्थल र सडक सुरक्षाका लागि पनि विशेष सुरक्षा प्रबन्ध मिलाएको प्रसाईंले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।