लन्डन- बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले राजनीतिक विषयमा अदालतले निर्णय सुनाउनु गलत भएको टिप्पणी गरेका छन्।
संयुक्त राष्ट्र संघको महासभामा सहभागीता जनाउन न्युयोर्कमा रहेका उनी बेलायती सर्वोच्च अदालतले सरकारले गरेको संसद् निलम्बनको घोषणा गैरकानुनी भएको ठहर गरेपछि भ्रमण छोट्याएर स्वदेश फर्किएका थिए। स्वदेश फर्किएपछि संसद्मा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा राष्ट्रिय विवादमा रहेको राजनीतिक विषयमा अदालतले फैसला सुनाउनु गलत रहेको बताएका हुन्।
उनले साना दलहरुलाई आफ्नो पार्टीले चुनावमा जित हासिल गर्नसक्ने दाबी गर्दै निर्वाचनका लागि विश्वासको मत पेस गर्न चुनौतीसमेत दिए। उनले पुनः निर्वाचन हुने कुरामा समेत सम्भावना नरहेको स्पष्ट पारे।
सांसद मिस्टर कोर्विनले प्रधानमन्त्री कार्यालयका लागि जोनसन उचित नभएको भन्दै राजीनामा दिन सुझाएको प्रति इन्गित गर्दै जोनसनले चुनावको सम्भावनालाई नकारेका थिए।
प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर लेवर पार्टीका रचेल रिब्सले बुधबार संसद्मा देखिएको दृश्यलाई तमासाको संज्ञा दिँदै यो जनताका लागि भयावह स्थिति रहेको प्रतिक्रिया दिए। उनले प्रधानमन्त्रीले जनतासँग माफी माग्नुपर्ने समेत माग गरेका थिए।
प्रधानमन्त्रीलाई सांसदहरूले संसद् निलम्बनका बारेमा प्रश्न गरेका थिए।
संसद् निलम्बन गर्ने प्रधानमन्त्री जोनसनको निर्णय गैरकानुनी भएको फैसला बेलायती सर्वाेच्च अदालतले सुनाएको भोलिपल्ट बसेको संसद् बैठकमा सांसदहरूले प्रश्नैप्रश्न गरेका हुन्।
सांसदहरूले प्रश्न गर्नेक्रममा प्रधानमन्त्री गैह्रजिम्मेवार भएको, गलत बाटोतर्फ गइरहेको, आफ्नो निर्णय गलत भएकाले राजीनामा दिनुपर्नेलगायतका विषयलाई उठाएका छन्।
सांसदहरूले राजीनामाको विषयलाई धेरै उठाए पनि प्रधानमन्त्री कार्यालयले जोनसनले राजीनामा नदिने र ब्रेक्जिटसम्बन्धी आफ्ना योजनामा उनी यथावत रहेको पनि स्पष्ट पारेको छ।
संसद् निलम्बन गर्ने निर्णयको समेत सरकारले बचाउ गरेको छ। ब्रेक्जिट अघिको पाँच हप्ता संसद् निलम्बन गर्ने विषय कानुनसम्मत नै रहेको कार्यालयको दाबी छ। प्रधानमन्त्री कार्यालयमा रहेका प्रधानमन्त्रीका सहयोगीहरुले अदालतको फैसलाको सम्मान गर्ने तर त्यसमा असहमति भने रहेको बताएका छन्।
संसद् निलम्बन गर्दा सरकारलाई जवाफदेही बनाउने अधिकारबाट सांसदहरू वञ्चित हुने भन्दै सर्वोच्च अदालतका ११ जना न्यायाधीशले निलम्बनको विपक्षमा सर्वसम्मत फैसला गरेका छन्।
अदालतको फैसलापछि ब्रेक्जिटका लागि युरोपेली सङ्घसँग गर्नुपर्ने प्रधानमन्त्री जोनसनको बाँकी प्रक्रियालाई थप जटिलता थपिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।