इस्लामावाद- पाकिस्तानमा मङ्गलबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १९ पुगेको प्रहरीले बताएको छ।
मिरपुरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले टेलिभिजनमार्फत जानकारी दिँदै भने, 'पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दू बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म १९ जनाको निधन भएको जानकारी आएको छ। भूकम्पका कारण ३ सयभन्दा बढी व्यक्ति घाइते भएका छन्।'
मंगलबार अपरान्ह गएको भूकम्पका कारण पाकिस्तान प्रशासित काश्मीरका कतिपय स्थानका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको जानकारी पनि उनले दिए।
पूर्वी पाकिस्तान र भारतमा समेत भूकम्पको झड्का महसुस भएको थियो। भूकम्प ५.८ रिक्टर स्केलको रहेको अमेरिकी भूगर्भ विभागले जनाएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।