काठमाडौं- विश्व फुटबलको सर्वोच्च निकाय फिफाले दिने वर्ष खेलाडीको अवार्ड २०१९ का लागि स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सीले जिते। फिफा सम्बद्ध देशका फुटबल कप्तानले दिने भोटमा नेपालका कप्तान विराज महर्जनले भने क्रिष्टियानो रोनाल्डोलाई पहिलो रोजाइँमा राखेका छन्।
पुरुष खेलाडीको अवार्डका लागि छानिएका उत्कृष्ट १० बाट अन्तिम तीनमा इटालियन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डो, स्पेनिस क्लब बार्सिलोनाका लियोनल मेस्सी र इंग्लिस क्लब लिभरपुलका भर्जिल भ्यान डाइक थिए।
फिफाको मनोनयनमा उत्कृष्ट १० मा रोनाल्डो, मेस्सी र भ्यान डाइकसँगै लिभरपुलका सडियो माने, लिभरपुलकै मोहम्मद सलाह, गएको सिजन चेल्सीबाट खेलेका र हाल रियल मिड्रडमा रहेका इडन हाजार्ड, पिएसजीका केलियन एमबाप्पे, टोटनह्यामका ह्यारी केन, गएको सिजन आयाक्सबाट खेलेर अहिले युभेन्टस गएका म्याथिज डि लिग्ट साथै गएको सिजन आयाक्समै रहेका र अहिले बार्सिलोना गएका फ्रान्की डि योङ रहेका थिए।
फिफाको नियमअनुसार फिफा सम्बद्ध देशका फुटबल कप्तान र प्रशिक्षकका साथै एक पत्रकारले पनि भोट दिन पाइन्छ। जसमा पाँच अंक, तीन अंक र एक अंकका लागि तीन खेलाडी छनोट गर्न सकिन्छ। त्यसमा नेपालका कप्तान विराजले पाँच अंकका लागि पहिलो रोजाइँमा रोनाल्डोलाई राखेका हुन्। उनले दोस्रो रोजाइँमा मेस्सी र तेस्रोमा भ्यान डाइक राखेका छन्।
फिफा वर्ष उत्कृष्ट खेलाडीमा नेपाली कप्तानका रुपमा विराजले मत दिए पनि पछिल्लो समय भने उनी नेपाली टिममा परेका छैनन्। नेपालले विश्वकप छनोट अन्तर्गत चाइनिज ताइपेइ र कुवेतसँग खेलेको खेलमा विराज टिममा नपरेपछि नेपालको कप्तानी किरण चेम्जोङले गरेका थिए।
.jpg)
यस्तै नेपालका प्रशिक्षक योहान कालिनले भने पहिलो रोजाइँमा मेस्सी, दोस्रोमा रोनाल्डो र तेस्रोमा भ्यान डाइकलाई राखेका छन्।
यस्तै नेपालमा मिडियाको तर्फबाट भोट दिएका रितेश रिजालले पहिलो रोजाइँमा मेस्सी, दोस्रोमा केलियन एमबाप्पे र तेस्रोमा भ्यान डाइकलाई राखेका छन्।
यस्तै उत्कृष्ट प्रशिक्षकका लागि दिइने भोटमा कप्तान विराजले पहिलो रोजाइँमा जर्गेन क्लोपलाई राखेका थिए। क्लोपले नै यसवर्षको अवार्डमा पेप गार्डिओला र मोउरिसिया पोचेटिनोलाई पछि पार्दै उत्कृष्ट प्रशिक्षक बनेका थिए। विराजको दोस्रो रोजाइँमा गार्डिओला र तेस्रोमा पोचेटिनो थिए।
नेपालका प्रशिक्षक कालिनले पहिलो रोजाइँमा क्लोप, दोस्रोमा गार्डिओला र तेस्रोमा टेन ह्याग इरिकलाई रोजेका थिए। यस्तै मिडियाको तर्फबाट रितेशले पहिलो रोजाइँमा क्लोप, दोस्रोमा गार्डिओला र पोचेटिनोलाई रोजेका थिए।
महिला कप्तानको भोट रापिनलाई
फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्डमा महिलातर्फ अमेरिकी एलेक्स मोर्गान र इंग्ल्यान्डकी लुसी ब्रोन्जलाई पछि पार्दै अमेरेकी मेगान रापिनले फिफा वर्ष खेलाडीको उपाधि जितिन्।
नेपालकी कप्तान निरु थापाको पहिलो रोजाइँमा पनि उनै रापिन थिइन्। निरुले दोस्रो रोजाइँमा मोर्गानलाई र तेस्रोमा केर सामलाई राखेकी थिइन्।
उत्कृष्ट महिला खेलाडीका लागि दिइने भोटमा नेपाली महिला टिमका प्रशिक्षक हरि खड्काले पनि कप्तान निरुले जस्तै पहिलो रोजाइँमा रापिन, दोस्रोमा मोर्गान र तेस्रोमा सामलाई भोट दिएका थिए।
यस्तै मिडियाको तर्फबाट रितेशले पहिलो रोजाइँमा रापिन, दोस्रोमा लुसी बोन्ज र तेस्रोमा हेगेरबर्ग एडालाई राखेका थिए।
साथै उत्कृष्ट महिला टिम प्रशिक्षकमा जिल एलिसले जितेको अवार्डमा नेपालकी कप्तान निरुको पहिलो रोजाइँमा एलिस नै परेकी थिइन्। निरुले दोस्रोमा रेनाल्ड पेडरोस र तेस्रोमा फुतोसी इकेडालाई रोजेकी थिइन्।
यसैगरी महिला प्रशिक्षकका लागि दिइने भोटमा नेपालका प्रशिक्षक हरि खड्काले पहिलो रोजाइँमा एलिस, दोस्रोमा रेनाल्ड र तेस्रोमा इकेडालाई नै राखेका थिए। मिडियाबाट रितेशले पहिलो रोजाइँमा एलिस, दोस्रोमा रेनाल्ड र तेस्रोमा सरिना विगम्यानलाई राखेका थिए।
यो पनि पढ्नुहोस- मेस्सीले कीर्तिमानी छैटौं पटक जिते फिफा वर्ष खेलाडी अवार्ड
कसको भोट कसलाई?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।