ढाका- लामखुट्टेको टोकाइका कारण आउने डेङ्गु ज्वरोका कारण यस वर्ष बङ्गलादेशमा मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएको छ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालयले बङ्गलादेशमा यस वर्ष ७५ जनाको मृत्यु भएको र ८५ हजार व्यक्तिमा डेङ्गुको सङ्क्रमण देखिएको पुष्टि गरेको हो।
मन्त्रालयका अनुसार डेङ्गुका कारण अप्रिलमा २, जुनमा ६, जुलाईमा ३२, अगस्टमा ३१ र सेप्टेम्बरमा ४ जनाको मृत्यु भएको छ।
अझै १४ हजार १ सय ९१ डेङ्गुका बिरामीले बङ्गलादेशका विभिन्न अस्पतालहरूमा उपचार गराइरहेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। बङ्गलादेशमा अगस्ट र सेप्टेम्बरमा गरी जम्मा ५२ हजार ६ सय ३६ जनालाई डेङ्गुको सङ्क्रमण देखिएको बताइएको छ।
यद्यापि डेङ्गुका बिरामीको सङ्ख्या क्रमशः घट्ने क्रममा रहेको पनि निर्देशनालयले जनाएको छ। विगत २४ घण्टामा राजधानी ढाकामा १ सय ४३ सहित देशभर ४ सय ६१ जना डेङ्गुको उपचारका लागि विभिन्न अस्पतालमा भर्ना भएका पनि सरकारी तथ्याङ्कमा उल्लेख छ।
बङ्गलादेशमा गत वर्ष १० हजार १ सय ४८ जनामा डेङ्गुको सङ्क्रमण भएको र २६ जनाको मृत्यु भएको थियो। गत वर्षको तुलनामा यस वर्ष सङ्क्रमण र मृत्यु हुनेको सङ्ख्या निकै बढेको देखिन्छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।