लन्डन- बेलायतको सर्वोच्च अदालतले संसद् निलम्बनसम्बन्धी मुद्दामा मङ्गलबार निर्णय गर्ने भएको छ।
प्रधानमन्त्री बोरिस जोनसनले गरेको निलम्बनसम्बन्धी निर्णयका विरुद्धमा सर्वोच्च अदालतमा केही दिन पहिले मुद्दा दर्ता भएको थियो।
युरोपेली संघबाट बेलायतलाई बहिर्गमन गराउने विषयलाई आफ्नो अनुकूल वातावरण बनाउन प्रधानमन्त्री जोनसनले संसद् निलम्बन गरेका थिए।
गत हप्ता अदालतमा तीन दिनसम्म भएको बहसपछि अदालतले मङ्गलबार निर्णय सुनाउने बताएको थियो। कूल ११ मध्ये ७ जना न्यायाधीशहरूको इजलासले यस बारेमा निर्णय गर्न लागेको एक जना प्रवक्ताले जानकारी दिएका छन्।
बेलायतको प्रधानमन्त्रीका रूपमा गत जुलाईमा मात्रै जोनसनले पदबहाली गरेका हुन्। जिम्मेवारी लिएको छोटो अवधिमै उनी संकटमा परेको विश्लेषण गरिएको छ। संसद् निलम्बन गर्ने निर्णयले उनलाई थप संकटमा पारेको बेलायती सञ्चार माध्यमहरूले लेखेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।