अन्तरिक्ष वैज्ञानिकहरुले पहिलो पटक पृथ्वीबाहेक मानव जीवनको सम्भावना भएको एक अर्को ग्रह पत्ता लागेको दाबी गरेका छन्। यो ग्रहमा पानी पनि रहेको जसका साथै मानव बसोबासको अनुकूल तापमानसमेत पाइएको उनीहरुको दाबी छ।
लन्डनका वैज्ञानिकहरुले ‘नेचर’ नामक पत्रिकामा यसबारेमा विस्तृत उल्लेख गरेका छन्। उक्त लेखमा यो ग्रह पृथ्वीभन्दा दुई गुणा अकारले ठूलो रहेको दाबी गरिएको छ। वैज्ञानिकहरुको दाबी छ कि यो ग्रहको तापमान शून्य देखि ४० डिग्री सेल्सियसको बीचमा रहेको छ। अहिले यो ग्रहको नाम उनीहरुले K2-18B राखेका छन्।
यो पृथ्वीभन्दा १११ प्रकाशवर्षको दुरीमा रहेको छ। तर खगोलशास्त्रीको चिन्ता नै यसको दुरी बनेको छ। दुरी निकै टाढा भएकाले अहिले नै जान सम्भव छैन र त्यहाँ पहिलेदेखि नै जीवन छ कि छैन पत्ता लगाउन गाह्रो छ।
तर वैज्ञानिकहरुले यो आस गरेका छन् कि आगामी दशकहरुमा अत्याधुनिक टेलिस्कोपको सहयोगमा त्यसबारेमा थप पत्ता लाग्नेछ।
क्यानडास्थित युनिर्भर्सिटी अफ मोन्ट्रियोलका प्राध्यापक बियर्न बेनेकको नेतृत्वका उक्त ग्रहको खोजी भएको हो। ‘हामीले पहिलो पटक पृथ्वीबाहेक अर्को ग्रहमा पानीको सहत पृथ्वी बराबर नै भएको फेला पारेका छौं,’ प्रध्यापक बेनेकले भने, ‘यो ग्रह यस्तो स्थानमा छ, जहाँ पर्याप्त रुपमा हावा पनि मिल्ने देखिन्छ जसरी पृथ्वीमा सूर्यको ताप मिलेको छ।’ यही कारणले त्यहाँ जीवनको सम्भावना रहेको उनको दाबी छ।

प्राध्यापक बेनेकले यो पृथ्वीसँग समानता देखिने भए पनि पृथ्वीभन्दा धेरै फरक रहेको बताए। ‘मलाई लाग्छ, यो ग्रहको तुलना पृथ्वीसँग गर्न मिल्दैन किनकि यो धेरै कुरामा त्योभन्दा फरक छ,’ प्राध्यापक बेनेकले भने, ‘यसको व्यास पृथ्वीको भन्दा लगभग अढाई गुना धेरै रहेको छ।' यस्ता ग्रहहरुमा चारैतिर ग्यासको मोटो आवरण हुने र जतिजति नजिक गयो उति नै तापक्रम वृद्धि हुने उनको भनाइ छ।
अहिलेसम्म फेला परेको मध्ये K2-18B सौर्यमण्डलबाहिर रहेको एकमात्र यस्तो ग्रह हो, जहाँ मानवीय अस्तित्वको आस देखिएको वैज्ञानिकहरु बताउँछन्। तर यसको विस्तृत बारेमा भने अहिले नै भन्न नसकिने उनीहरुको भनाइ छ। बिबिसी हिन्दीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।