फिक्कल- इलाममा आइतबार एक व्यक्तिले दाजुलाई खुकुरी प्रहार गरेर आत्महत्या गरेका छन्।
इलाम सन्दकपुर गाउँपालिका-१, झ्याउपोखरी बस्ने ४२ वर्षीय बुद्धवीर राईले आफ्नै ६४ वर्षीय दाइ विष्णु राईलाई खुकुरी प्रहार गरी आफूले आत्महत्या गरेका हुन्।
दाजु विष्णु घर नजिक रहेको आफ्नै बारीमा घाँस काटिराखेको अवस्थामा भाइले आएर एक्कासि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी हेमन्त भण्डारीले जानकारी दिए। घाइतेको बाँया आँखाको माथि कञ्चटमा काटेको र दाहिने कानको छेउमा पनि चोट लागेको छ।
घटनालगत्तै पुगेको प्रहरी चौकी बन्दुकेका प्रहरीको सहयोगमा उनको उपचार गर्न इलाम अस्पताल ल्याइएको थियो। इलाममा उपचार सम्भव नभएपछि विष्णुलाई झापातर्फ लगिएको छ। उनको अवस्था गम्भीर रहेको छ।
खुकुरी प्रहार गर्ने व्यक्तिको खोजतलास गर्ने क्रममा घटनास्थलदेखि करीब ३ सय मिटर पर गोगुनको रुखमा झुण्डिएर आत्महत्या गरेको अवस्थामा बुद्धवीरको शव फेला पारिएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ। शव परीक्षणका लागि इलाम अस्पतालमा ल्याइएको छ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।