काठमाडौं- प्रदेश नम्बर २ मा सरकार गठनको विषयमा मधेसकेन्द्रित दुई दलबीच सहमति भएको छ। संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा)का शीर्ष नेताबीच शनिबार भएको बैठकले प्रादेशिक सरकारको नेतृत्वसहित अन्य पदको भागबन्डा गरेको हो।
सहमति अनुसार प्रदेश २ को मुख्यमन्त्री संघीय समाजवादी फोरमले गर्नेछ। जसको नेतृत्व फोरमका लालबाबु राउतले गर्नेछन्। फोरमले यसअघि बसेको प्रदेश संसदीय दलको बैठकले राउतलाई दलको नेता चयन गरेको थियो।
प्रदेश सभामुखको पद भने राजपा नेपालले पाउनेछ।
शीर्ष नेताको सहमति अनुसार, फोरमले मुख्यमन्त्रीसहित आन्तरिक मामिला तथा कानुन मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र उपसभामुख पाउनेछ।
त्यस्तै, राजपाले सभामुखसहित भौतिक पूर्वाधार मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय पाउनेछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।