भैरहवा- रुपन्देहीको रोहिणीमा गोली हानी हत्या गरिएको विषयमा थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) टोली रुपन्देही आएको छ।
गत आइतबार दिउँसो रोहिणी गाँउपालिका-३ बैकुण्ठपुरमा दिनदाहडै गोली प्रहार गरी ओमसतिया गाँउपालिका-५ पठ्खौलीका महेन्द्र कुर्मी चौधरीको हत्या गरिएको थियो।
घटनाको विभिन्न कोणबाट सुक्ष्म अध्ययनका लागि सिआइबीको टोली रुपन्देही आएको रुपन्देही प्रहरीले जानकारी दिएको छ। घटनाको अध्ययनको लागि प्रहरी नायब उपरीक्षकको नेतृत्वमा ५ जनाको टोली रुपन्देही आएको हो।
नेपाल प्रहरी र सिआइबीको टोलीले नेपाल र भारतका विभिन्न स्थानमा केन्द्रित रहेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी वीरेन्द्र बहादुर शाहीले जानकारी दिए। हत्या गरी अपराधी भारततर्फ भागेको हुन सक्ने प्रहरीले आशंका गरेको छ।
हत्यामा सम्लग्न भएको आशंकामा अनुसन्धान गर्नु पर्ने व्यक्तिसँग सोधपुछ गरिरहेको तथा विभिन्न स्थानमा गएर सुक्ष्म अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।
जिल्लामा प्रहरी प्रमुख फेरिएर आएकै दिन दिनदाहडै भएको घटनाका कारण पनि प्रहरीलाई छिटो भन्दा छिटो हत्यारालाई प्रक्राउ गरी कारबाही गर्नु पर्ने दबाब छ।
प्रहरीले भारतीय प्रहरीसँग पनि समन्वय गरेर दोषीको खोजी कार्य तिव्र पारिएको प्रहरी प्रवक्ता शाहीले बताए। 'हामीसँग भएको सबै क्षमता लगाएर काम गरिरहेका छौ,' प्रवक्ता शाहीले भने, 'सिसि क्यामरामा कैद भएको फुटेजबाट पनि अनुसन्धान गरेका छौं। हामीले छिट्टै हत्यारालाई बाहिर ल्याउछौ भन्ने बिश्वासका साथ काम गरेको छौं।'
घटनाको अनुसन्धानकै क्रममा भारतीय प्रहरीसँग पनि छलफल र समन्वय भएको प्रहरी श्रोतको भनाई छ। शंकास्पद व्यक्तिहरुसँग सोधपुछ गर्ने काम भइरहेको जनाइएको छ।
यता घटना घटेको पाँचौ दिनसम्म पनि कसैले सूचना दिएर घटना गराएको हो या लुटेराले आफै पैसा लुट्नको लागि घटना गरेको भन्नेमा अहिले पुष्टि नभएकोले घटना रहस्यमय बन्दै गएको छ। गोली कसले र किन चलाएको भन्ने विषय नखुले पनि पारिवारिक बेमेलका कारण चौधरीको हत्या भएको हुन सक्ने आशंका गरिएको छ।
मृतक चौधरीकी १६ वर्षीया छोरी सोनम चौधरीले काकी मालती चौधरीले बाबुको हत्याको योजना बनाएर हत्या गर्न लगाएको आरोप लगाएकी छन्। सोनमका अनुसार काका धमेन्द्र चौधरीको २ वर्ष अघि मृत्यु भएको र त्यसपछि पछि माईतमा बस्दै आएकी काकीले जग्गा बिबाद गर्दै आएको माग गरे अनुसारको जग्गा नपाएपछि विवादको अवस्था थियो।
उनले काकी मालती चौधरीका कारण बुबाको हत्या भएकोले घटनाको छिट्टै सत्यतथ्य बाहिर ल्याउन प्रहरीसँग माग गरेकी छन्।
ओमसतिया गाउँपालिका-५ पट्खौलीका चौरी आइतबार दिउँसो साढे २ बजे भैरहवास्थित हिमालय बैंकबाट ५ लाख रुपैयाँ निकालेर लु ९ प ८२३५ नम्बरको मोटरसाइकलमा श्रीमती र ८ महिनाको दुधे बालक छोरासहित घर फर्किने क्रममा बैकुण्ठपुरमा गोली हानिएको थियो।
लुटेराले चौधरीलाई मोटरसाइकलबाट लडाई पैसा र ज्यान जोगाउन नजिकैको घरतर्फ भाग्न लाग्दा गोली हानी पैसा र उनीसँग भएको नागरिकता, चेकबुकलगायतका सामान लुटेर लगेको परिवारले जनाएको छ। मृतक चौधरीका २ छोरी, एक छोरा, श्रीमती र बुबाआमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।