काठमाडौं- आन्तरिक राजस्व विभागले गत भदौ २७ गतेयता गरेको बजार अनुगमनका क्रममा कर कानुन पालना नगर्ने ३०२ करदातालाई जरिवाना तथा कारबाही गरेको छ।
चार दिनको अवधिमा २ सय ३४ टोलीले एक हजार ९ सय ५१ करदाताको अनुगमन गरी उनीहरुलाई कारोबारस्थलमै कारबाही गरिएको विभागले जनाएको छ । अन्तःशुल्क स्टिकर नलगाइएका गुट्खा तथा इजाजत नलिई कारोबार गरेको मदिरा र अन्तःशुल्क स्टिकरको प्रयोग नभएको मदिरा बरामद गरेको छ।
अनुगमन टोलीले नक्कली स्टिकर तथा अवैध मदिराको प्रयोग, करपाटी नराख्ने, विवरण पेश नगर्ने तथा खाता अद्यावधिक नगर्ने करदातालाई प्रचलित कानुन अनुसार कारबाही गरेको छ।
अनुगमनका क्रममा व्यवसायीले व्यवसाय दर्ता नगरी कारोबार गरेको, घरबहाल कर दाखिला नगरेको, बिलबिजकको प्रयोग नगरिएको जस्ता क्रियाकलाप गरेको पाइएको थियो।
कर अधिकृतको नेतृत्वमा खटिएको टोलीले कारबाहीमा परेका र शंकास्पद देखिएका करदातालाई अनुसन्धानका लागि खरिद-बिक्री खाता नियन्त्रणमा लिई कार्यालयमा उपस्थित हुन पत्राचार समेत गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।